न्वागी मेला-२०८० को तयारी सुरु

- मेला सञ्चालन तथा व्यवस्थापनकालागि मूल समितिको पुनर्गठन

-


     राम प्रसाद घिमिरे     
     कार्तिक १४ गते २०८० मा प्रकाशित


पश्चिमाञ्चल क्षेत्रकै ठूलो स्थानीय पर्वको रुपमा परिचित न्वागी मेलाको तयारी सुरु भएको छ । बाग्लुङ जिल्लाको वडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रको महत्त्वपूर्ण पर्वको रुपमा इतिहास बोकेको न्वागी मेला सञ्चालनका लागि तयारी सुरु गरिएको हो ।

न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा हरेक वर्ष गरिँदै आएको मेलाको यस वर्षको आयोजना तथा व्यवस्थापनका लागि मंगलबार आयोजित एक भेलाले गुणानिधी घिमिरेको अध्यक्षतामा २२ सदस्य मेला मुल आयोजक समितिको पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा प्रदिप खरेल र भानुभक्त पौडेल सचिवमा विष्णुप्रसाद आचार्य, सह-सचिवमा टीका बहादुर पाइजा, कोषाध्यक्षमा रमेश बहादुर घिमिरे रहने भेलाले निर्णय गरेको समितिका सचिव विष्णु प्रसाद आचार्यले बताउनुभयो ।
समितिको सदस्यहरुमा तिर्थमणि भुषाल, दिनानाथ पौडेल, धुर्व बहादुर घिमिरे, राम बहादुर कुँवर, चेतनारायण आचार्य, नरिश्वर घिमिरे, शिवलाल घिमिरे, राम प्रसाद घिमिरे, विष्णुमाया घिमिरे, उपेन्द्र ध्वज जिसि, गोकुल घर्ती, गाजर विक, पुनम खरेल, हरि केसी, कमला पुन, चुरा बहादुर विक रहेको सचिव आचार्यको भनाइ रहेको छ ।

भेलाले ७ सदस्य सल्लाहकार समिनि समेत चयन गरेको छ । सल्लाहकार समितिमा वर्तमान अध्यक्ष कलाधर घिमिरे, निवर्तमान उपाध्यक्ष कमलराज आचार्य, लाल बहादुर घिमिरे, मोहन जिसि, काजिमान गौचन जिवन कुँवर र घनश्याम आचार्य रहेको
समितिको संरक्षकमा कृष्णबहादुर घिमिरे रहेको समितिका अध्यक्ष गुणानिधी घिमिरेले बताउनुभयो ।

यस वर्ष अर्थात २०८० को लागि मेलामा विविध खेलकुद, सांस्कृतिक कार्यक्रमको आयोजनाका लागि छलफल सुरु भइसकेको र केहि दिनमा सार्वजनिक गरिने सचिव आचार्यले बताउनुभयो ।

यस क्षेत्रको मुख्य अन्नबाली धान भित्र्याएपछि न्वागी खाने यो प्रचलन दशकौंदेखि चल्दै आइरहेको परम्परा हो ।

यस वर्षको न्वागी खाने दिन भने मंसिर ३ गते शुभ साइत रहेको वडा नम्बर ५ का वडा अध्यक्ष समेत रहेका समिति सचिव आचार्यले बताउनुभयो ।

यस मेलालाई पौंदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन् । स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाइ खेत भएका र नभएका दुवैले खाने प्रचलन रहेको छ ।

खेत भएकाहरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन् भने आफना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । दशकौंदेखि त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ ।

परापूर्व कालमा स्थानीयहरुले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गर्ने गरेका छन् ।
न्वागीको इतिहास: नेपालको ऐतिहासिक अध्ययन क्रममा १२ औं शताब्दीको तत्कालिन अवस्थामा कर्णाली राज्यको स्थापना भएको र १५ औं शताब्दी तिर उक्त राज्य टुक्रिएर स—साना टुक्रे राज्यहरु हुँदै गर्दा बागलुङको ग्वालीचौर इस्मा राज्य अन्तगर्त पर्थ्यो ।

गुल्मीको नेटा, पौंदीअमराई, इस्मा र ग्वालीचौरमा ८० घरहरु थिए । त्यसलाई इस्मा राज्यले पौंदी क्षेत्र भनेर घोषणा गरेको ऐतिहासिक पृष्ठभूमि रहेको छ ।

बाइसे चौबीसे राजाको पालामा हालको गुल्मीमा पर्ने पौंदीअमराई, नेटा दर्लिङ, इस्मा र बागलुङको ग्वालीचौर, जलजला र दगातुम्डाँडा क्षेत्रको मुसिकोट इस्मा राज्य थियो । उक्त राज्यका राजाले सय मुरी धान उत्पादन हुने जमिनको गुठी बनाएका थिए ।

उक्त जमिनलाई छत्रभूमिको नामकरण गरिएको भन्ने चलन रहेको छ । छत्रभूमि छत्रगुठीको रूपमा स्थापित भएपछि त्यहाँको उब्जनी पहिलोपटक खाने विधिलाई न्वागीको नाम दिइएको समितिका अध्यक्ष घिमिरेले बताए । चाड मनाउने क्रममा बाहुन–क्षेत्री, मगर र दलित समेत मिलेर न्वागी खाने गर्छन् ।।