इमेज सहकारीका बचतकर्ताले आन्दोलन चर्काउदै, बागलुङ बजारमा सिठी जुलुस र धर्ना प्रदर्शन

-


     हिडन खबर    
     असाेज ३० गते २०८० मा प्रकाशित


बागलुङ । बागलुङमा चरणबद्ध आन्दोलन थालेका इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरुले मंगलबार बागलुङ बजारमा विशाल सिठी जुलुस तथा धर्ना प्रदर्शन गरेका छन् । इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकहरुलाई छिटो भन्दा छिटो पक्राउ गर्न दवाव दिदै बचतकर्ताहरुले बागलुङमा प्रदर्शन गरेका हुन् ।

नेपालीहरूको महान चाड विजया दशमी नजिकै आइसकेको भएपनि आफूहरुसँग चाडपर्व मनाउने पैसा समेत नभएको भन्दै अध्यक्ष नेपालीलाई पक्राउ गरी तत्काल बचतकर्ताको बचत रकम फिर्ता गर्ने वातावरण मिलाउन इमेज बचत पीडित संघर्ष समितिले माग गरेको छ । सहकारीमा जम्मा गरेको धेरै थोरै रकम सहकारीका संचालकले हिनामिना गरेर फरार भएपछि नेपालीहरूको महान चाड विजया दशमी मनाउन सक्ने अवस्था नरहेको सहकारी पीडित संघर्ष समितिका अध्यक्ष दिलबहादुर कार्कीले बताउनु भयो । ढोरपाटन नगरपालिकाको नगर प्रमुख समेत रहेका व्यक्तिले संचालन गरेको सहकारी संस्थाले हजारौं बचत कर्ताहरूको अरवौ रकम अपचलन गरेर रातारात फरार हुँदा समेत प्रहरी प्रशासन, स्थानीय तह मौन रहेपछि बचतकर्ताहरू मारमा परेका छन् ।

बचतकर्ताहरुको अरबौं रकम हिनामिना गरि भागेका देवकुमार नेपालीलगाएत अन्य सञ्चालकहरुलाई तत्काल पक्राउ गरि बचतकर्ताहरुको रकम फिर्ता गराउन माग गर्दै सयौ बचतकर्ताले बागलुङ बजारको मुख्य मुख्य चोकहरुमा सिठी जुलुस प्रदर्शन गरेका थिए ।

जुलुसमा सहभागी भएका बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपाली र नेपाल सरकार विरुद्ध नारा लगाएका थिए भने बचत रकम फिर्ता गर्न, देवकुमार नेपालीलाई गिरफ्तार गर्न माग गरेका थिए ।

बागलुङ बजारको हल्लन चोकबाट सुरु भएको प्रदर्शन लोकतान्त्रिक चोक, धौलागिरि चोक, जिपपार्क, लालिगुँरास चोक, जिल्ला प्रशासन कार्यलय अगाडी हुँदै, वुद्ध विहार, समिट चोक, हुँदै पुन हल्लन चोक आइ समापन भएको थियो ।

ढोरपाटन नगरपालिका मेयर समेत रहेका नेपाली ५ जेठदेखि फरार छन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो ।

बचतकर्ताको करिव २ अर्ब रकम हिनामिना गरेको आरोप उनीमाथि छ । प्रहरीले इमेज सहकारीका सञ्चालक चित्र बहादुर भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी लालमती रोकालाई असार १ गते ताराखोलाबाट प्रहरीले पक्राउ गरेका थियो भने असार ११ गते इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक शक्ति किसानलाई पक्राउ गरेको थियो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर रहेका नेपाली सपरिवार सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट फरार भएपछि हजारौ बचतकर्ताहरु विचल्लीमा परेका छन् ।