रवि लामिछानेको आफ्नै पार्टीभित्र प्रश्न : १८२ सिट पाएपछि मात्तियौँ, जनताले दिएको मतको दुरुपयोग नगरौँ

-


     हिड्न खबरदाता     
     कार्तिक २१ गते २०८३ मा प्रकाशित


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले प्राप्त गरेको ठूलो जनमतलाई लिएर नेता तथा कार्यकर्तामा अहंकार बढेको भन्दै आफ्नै पार्टीभित्र आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।

शुक्रबार चितवनमा पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले १८२ सिट प्राप्त गरेपछि पार्टीका नेता तथा कार्यकर्तामा भुइँ छाड्ने प्रवृत्ति देखिएको टिप्पणी गरे । उनले जनताले दिएको मत जनताको सेवा गर्नका लागि भएको भन्दै त्यसको दुरुपयोग नगर्न सचेत गराए ।

‘जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ हामी । माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ कि मान्छेलाई मान्छे गनेका छैनौँ,’ उनले भने ।

लामिछानेले पार्टीको सफलता र त्यसपछि देखिएका व्यवहारको जिम्मेवारी अरूलाई थोपर्नुभन्दा आफैँले लिनुपर्ने बताए । सञ्चारमाध्यम, राजनीतिक विश्लेषक र समाजले पार्टीका गतिविधिमाथि गरेको टिप्पणीलाई आलोचनाका रूपमा स्वीकार गर्नुपर्ने उनको भनाइ थियो ।

‘समाजले हामीलाई ऐना देखाएको छ, ऐनाले हाम्रो अनुहार देखाएको छ । आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने राजनीतिक चरित्र होइन,’ उनले भने ।

उनले रास्वपाले अपेक्षित राजनीतिक प्रशिक्षण र सङ्गठन निर्माणको काम पूरा गर्न नपाउँदै ठूलो जनमत प्राप्त गरेको उल्लेख गर्दै पार्टीभित्र अनुशासन, सिद्धान्त र राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए ।

सामान्यतया पार्टीको विचार, सिद्धान्त र सङ्गठन निर्माण भएपछि जनताले विश्वास गरेर मत दिने राजनीतिक अभ्यास भए पनि रास्वपाको हकमा पार्टी पूर्ण रूपमा स्थापित हुनुअघि नै जनताले ठूलो जिम्मेवारी दिएको उनको भनाइ थियो ।

लामिछानेले पार्टीभित्र अवसरका लागि मात्रै राजनीति गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति पनि असन्तुष्टि जनाए । स्थानीय तहको वडा अध्यक्षदेखि नै सङ्गठन निर्माणमा लाग्नुपर्ने कार्यकर्ताहरू एकैपटक नगर प्रमुख, प्रदेशसभा सदस्य तथा पार्टीका ठूला पदमा आकाङ्क्षा राख्न थालेको उनको टिप्पणी थियो ।

‘अहिले हाम्रा मान्छे वडाध्यक्ष हेर्दैनन्, एकैचोटि सभापति र पालिका हेर्ने हो, माथि हेर्ने हो । यसले हामी अवसरको राजनीतितिर गइरहेका छौँ भन्ने देखाउँछ,’ उनले भने ।

उनले पार्टीभित्र एकअर्काको प्रगति देखेर ईर्ष्या गर्ने र पदमा पुगेपछि पुराना सहयात्रीलाई बेवास्ता गर्ने दुवै प्रवृत्ति गलत भएको बताए । सँगै सङ्घर्ष गरेका साथीहरू सांसद वा अन्य जिम्मेवारीमा पुग्दा उनीहरूलाई सम्मान गर्नुपर्ने र अवसर नपाएका साथीहरूले पनि निराश नभई सङ्गठनमा सक्रिय रहनुपर्ने उनको भनाइ थियो ।

लामिछानेले पार्टीभित्रको एकता र राजनीतिक निष्ठालाई चुनावी परिणामसँग मात्रै जोडेर हेर्न नहुनेमा जोड दिए । आज १८२ सिट प्राप्त गरेको पार्टी भोलि दुई सिटमा सीमित भए पनि राजनीतिक प्रतिबद्धता र जनताको सेवामा निरन्तर लाग्नुपर्ने उनले बताए ।

‘चुनाव जित्नु मात्रै ठूलो कुरा होइन । भोलि दुई सिट वा शून्य सिट हुँदा पनि राजनीति जित्नुपर्छ,’ उनले भने ।
आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटका लागि पार्टीले क्यान्डिडेट क्लबको विधि अपनाएको उल्लेख गर्दै उनले उक्त प्रक्रिया पारदर्शी र विधिसम्मत हुने दाबी गरे । पार्टीको आन्तरिक प्रक्रियामा आफूले अवसर नपाए पनि अर्को साथीलाई सहयोग गर्न सक्ने राजनीतिक संस्कार आवश्यक रहेको उनको भनाइ थियो ।

‘मैले जित्न सकिनँ र मेरै पार्टीको अर्को साथीले आन्तरिक चुनाव जित्यो भने एक–दुई दिन दुःख मनाउला, तेस्रो दिनदेखि त्यही साथीको पक्षमा भोट माग्दै हिँड्छु भन्ने प्रतिबद्धता हुनुपर्छ,’ उनले भने ।
उनले पार्टीभित्र पद र टिकट नपाउँदा असन्तुष्ट भएर पार्टीविरुद्ध गतिविधि गर्ने प्रवृत्तिले सङ्गठन कमजोर बनाउने चेतावनीसमेत दिए ।

लामिछानेले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीका नेताहरूले विगतमा लामो समयसम्म राजनीतिक सङ्घर्ष गरेको उदाहरण दिँदै राजनीति पद र निर्वाचनको परिणामका लागि मात्रै गर्न नहुने बताए ।

उनले नेपाली कांग्रेस २०१५ सालमा सरकारमा पुगेपछि २०४६/४७ सालसम्म लामो समय सत्ताबाहिर रहे पनि त्यसका नेता तथा कार्यकर्ता सङ्घर्षमा निरन्तर लागेको प्रसङ्ग उल्लेख गरे । राजनीतिक निष्ठा र प्रतिबद्धतामा अडिन नसक्ने व्यक्तिले राजनीतिमा लाग्नुको औचित्यमाथि पनि उनले प्रश्न उठाए ।

चितवनबाट राजनीतिक यात्रा सुरु गरेको स्मरण गर्दै लामिछानेले आफूलाई विश्वास गरेर पुराना राजनीतिक दल छाड्दै रास्वपामा आबद्ध भएका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरे । नयाँ राजनीतिक दलका रूपमा रास्वपालाई विश्वास गरेर पहिलोपटक राजनीतिमा लागेका कार्यकर्ताको योगदान पनि महत्त्वपूर्ण रहेको उनले बताए ।

सम्बोधनका क्रममा उनले राजनीतिक प्रतिबद्धताका उदाहरणका रूपमा जगन्नाथ पौडेलको चर्चा गर्दै चुनाव हार्दैमा राजनीतिक यात्रा समाप्त नहुने बताए । पौडेलले चुनावी प्रतिस्पर्धामा सफलता प्राप्त नगरे पनि उनको राजनीतिक निष्ठा र योगदानप्रति पार्टीले सम्मान गरेको लामिछानेको भनाइ थियो ।

उनले पार्टीभित्र एउटै पदका लागि धेरै आकाङ्क्षी हुनु स्वाभाविक भए पनि त्यसको व्यवस्थापन विधि र प्रक्रियाबाट गर्नुपर्ने बताए । नेताको निकटता, व्यक्तिगत सम्बन्ध वा भेटघाटका आधारमा टिकट वितरण गर्ने व्यवस्था पार्टीले नगरेको उल्लेख गर्दै उनले उम्मेदवार छनोट प्रक्रियामा विधि र पारदर्शितालाई प्राथमिकता दिइने बताए ।

लामिछानेले पार्टीले प्राप्त गरेको जनमतलाई व्यक्तिगत शक्ति र प्रभावका रूपमा नभई जनताप्रतिको जिम्मेवारीका रूपमा बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।