
बागलुङ, असोज ६ । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाको शान्ति सुरक्षा थप सुदृढ बनाउने तथा अपराध नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभरका होटल, लज तथा खाजा घरहरूमा एकैसाथ विशेष ‘स्विप चेकिङ’ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका सबै प्रहरी इकाइहरूले आ–आफ्नो कार्यक्षेत्रभित्र रहेका होटल, लज र खाजा घरहरूमा अनुगमन तथा जाँच अभियान सञ्चालन गरेका हुन्।
प्रहरीका अनुसार चेकिङका क्रममा होटल तथा लजहरूमा हुन सक्ने लागुऔषधको अवैध प्रयोग तथा कारोबार, जुवातास तथा अन्य गैरकानुनी गतिविधिबारे निगरानी गर्दै आवश्यक सोधपुछ गरिएको थियो।
यस्तै, होटलमा बास बस्न आउने स्वदेशी तथा विदेशी पाहुनाको स्पष्ट परिचय खुल्ने गरी अभिलेख दर्ता राख्न तथा नियमित अद्यावधिक गर्न होटल सञ्चालकहरूलाई आग्रह गरिएको छ।
अपराध अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन होटल परिसर तथा प्रवेशद्वारमा गुणस्तरीय सिसिटिभी क्यामेरा जडान गरी सधैं सञ्चालन अवस्थामा राख्न व्यवसायीहरूलाई अनुरोध गरिएको प्रहरीले जनाएको छ।
अनुगमनका क्रममा होटल सञ्चालक तथा प्रतिनिधिहरूलाई व्यवसाय सञ्चालन गर्दा पालना गर्नुपर्ने सुरक्षा मापदण्ड, कानुनी दायित्व तथा सामाजिक उत्तरदायित्वसम्बन्धी जानकारीसमेत प्रदान गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय बागलुङले सुरक्षित समाज निर्माणका लागि होटल व्यवसायी, स्थानीय नागरिक तथा सरोकारवाला निकायहरूको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै शान्ति सुरक्षा कायम गर्ने अभियानमा सहयोग पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।











