
बागलुङ, असोज ६
बागलुङ बजारमा हँसिया प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–३ देउरालीचोकमा सिन्धुपाल्चोक घर भई बागलुङ बजारमा बस्दै आएका टिकाराम राईले हँसिया प्रहार गर्दा सिन्धुपाल्चोककै सोमबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन्।
घाइते श्रेष्ठको धौलागिरि अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।
घटनामा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि अनुसन्धान अगाडि बढाउन अदालतबाट म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









