
काठमाडौं, असोज ६ — नेपाली कांग्रेसको आन्तरिक अधिवेशनको प्रक्रिया अगाडि बढेसँगै चन्द्रागिरि नगर कांग्रेसको आगामी नेतृत्वबारे चर्चा र चासो बढ्न थालेको छ। यसै क्रममा इन्जिनियर रमेश सुवेदीको नाम नगर नेतृत्वका सम्भावित आकांक्षीका रूपमा चर्चामा आएको छ।
क्षेत्रीय प्रतिनिधि तथा कांग्रेसका शुभेच्छुकहरूको एक समूहले आगामी नेतृत्वमा अनुभव, नवीन सोच, संस्थागत क्षमता र परिणाममुखी कार्यशैली आवश्यक रहेको बताउँदै सुवेदीको नाम अघि सारेको जनाएको छ।
स्थानीय विकास, जलस्रोत तथा खानेपानी, फोहोरमैला व्यवस्थापन र उद्यमशीलता विकासका क्षेत्रमा अनुभव हासिल गरेका सुवेदीको पेशागत पृष्ठभूमिका कारण पनि उनको नाम चर्चामा आएको बताइन्छ।
विद्यालय तहदेखि नै नेतृत्व तथा सामाजिक गतिविधिमा सक्रिय सुवेदीले विद्यालय व्यवस्थापन समिति, कलेज तथा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल र नेपाल इन्जिनियर्स एसोसिएसन लगायतका संस्थामा विभिन्न नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेको जनाइएको छ।
दुई दशकभन्दा बढीको पेशागत अनुभव भएका सुवेदी लायन्स क्लब अफ काठमाडौं जुपिटर मार्फत सामाजिक तथा सेवामूलक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्।
सुवेदीका समर्थकहरूले उनको नेतृत्वमा बौद्धिक सोच, दीर्घदृष्टि, प्राविधिक ज्ञान, संस्थागत कार्यशैली र सेवाभावको संयोजन रहेको दाबी गरेका छन्। यही पृष्ठभूमिका कारण चन्द्रागिरि कांग्रेसको आगामी नगर नेतृत्वसम्बन्धी छलफलमा उनको नामले स्थान पाउन थालेको बताइएको छ।
यद्यपि, नगर नेतृत्वको अन्तिम टुंगो पार्टीको आन्तरिक प्रक्रिया तथा अधिवेशनबाट हुने भएकाले हाल भइरहेको चर्चा सम्भावित नेतृत्व र आकांक्षीहरूबारेको बहसका रूपमा रहेको छ।
चन्द्रागिरि कांग्रेसभित्र अहिलेको बहस केवल एक व्यक्तिको नाममा सीमित नभई आगामी नेतृत्वको स्वरूप र अपेक्षासँग समेत जोडिएको राजनीतिक वृत्तमा चर्चा छ।










