
भदौ ४ गतेको रात मेरो जीवनका लागि निकै पीडादायी रह्यो। राति अचानक अत्यधिक टाउको दुख्न थाल्यो। दुखाइ यति धेरै थियो कि रातको करिब ३ बजे धौलागिरी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुग्नुपर्यो। स्वास्थ्य परीक्षणसँगै डेंगुको परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आयो।
डेंगु भन्ने सुनेको त थिएँ, तर आफैंलाई नहुँदासम्म यसको पीडा र कठिनाइ कति गाह्रो हुन्छ भन्ने वास्तविक रूपमा महसुस गरेको थिइनँ। डेंगु पोजेटिभ भएपछि शरीर निकै कमजोर हुने, ज्वरो आउने, टाउको दुख्ने, शरीर गल्ने, खान मन नलाग्ने र खाएको खानासमेत स्वादिलो नलाग्ने रहेछ। सामान्य रूपमा खाइरहेको खाना पनि नमिठो लाग्दा शरीरलाई आवश्यक शक्ति जुटाउनसमेत कठिन हुने रहेछ।
अहिले डेंगुका कारण मेरो स्वास्थ्य निकै कमजोर भएको छ। पहिले सामान्य रूपमा गरिरहेका दैनिक कामसमेत गर्न गाह्रो भइरहेको छ। केही दिनको बिरामीले मानिसको शारीरिक अवस्थासँगै मानसिक अवस्थामासमेत कति ठूलो असर पार्दोरहेछ भन्ने कुरा अहिले आफ्नै अनुभवबाट बुझिरहेको छु।
पछिल्लो समय बागलुङ जिल्लामा पनि डेंगु तथा विभिन्न प्रकारका ज्वरोका बिरामी बढिरहेको अवस्था देखिन्छ। यस्तो अवस्थामा हामी सबैले आफ्नो स्वास्थ्यप्रति अझ बढी सचेत र सावधान हुन जरुरी छ। डेंगुलाई सामान्य ज्वरो भनेर बेवास्ता गर्नु हुँदैन। लगातार ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, अत्यधिक कमजोरी महसुस हुने, खान मन नलाग्ने जस्ता समस्या देखिएमा समयमै स्वास्थ्यकर्मीको सल्लाह लिनु आवश्यक छ।
डेंगुबाट बच्न घरवरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्ने, घर तथा वरपरको वातावरण सफा राख्ने र सम्भावित जोखिमप्रति सचेत रहने गरौँ। आफू बिरामी भएपछि मात्र सावधानी अपनाउने होइन, बिरामी हुनुअघि नै आवश्यक सावधानी अपनाउनु सबैभन्दा महत्वपूर्ण कुरा हो।
मेरो यो अनुभव अरूका लागि पनि एउटा सानो चेतावनी बनोस् भन्ने चाहन्छु। मलाई डेंगु भएपछि मात्रै थाहा भयो—यो सामान्य ज्वरो मात्र रहेनछ, निकै गाह्रो हुने रहेछ।
त्यसैले बागलुङवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो हार्दिक आग्रह छ—आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्। घरपरिवारका सदस्यको स्वास्थ्यमा पनि ध्यान दिनुहोस्। ज्वरो वा अन्य असहजता देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा पुगेर आवश्यक परीक्षण तथा उपचार गराउनुहोस्।
अहिले म पनि स्वास्थ्यलाभको क्रममा छु। मेरो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्नुहुने तथा स्वास्थ्यलाभको शुभकामना दिनुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आफन्तजन तथा शुभेच्छुकहरूप्रति हृदयदेखि नै आभारी छु।
स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो। आफू पनि सचेत बनौँ, अरूलाई पनि सचेत गराऔँ।









