रक्तदान कार्यक्रममार्फत रगत अभाव न्यूनीकरणमा लायन्स क्लबहरूको पहल

-


     हिड्न खबरदाता     
     असाेज ३ गते २०८३ मा प्रकाशित


काठमाडौं, असोज ३

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स तथा लियो क्लबहरूको संयुक्त आयोजनामा शनिबार काठमाडौंमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएकाे छ।

बढ्दो रगत अभावलाई न्यूनीकरण गर्दै बिरामीको जीवन रक्षा गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएकाे हो।

“Donate Blood, Save a Life, Be Someone’s Reason to Live” भन्ने मूल नारासहित आयोजना भएको कार्यक्रममा दर्जनौं स्वयंसेवी रक्तदाताको सहभागिता रहेकाे थियोे ।

रक्तदान कार्यक्रम लायन्स क्लब अफ काठमाडौं मनमैजु, काठमाडौं रोजमेरी, काठमाडौं हिमालय भिजन, काठमाडौं सिनर्जी, काठमाडौं मनमैजु युथ, काठमाडौं सद्भाव, काठमाडौं स्तुपा, काठमाडौं श्री मातृभूमि तथा लियो क्लब अफ काठमाडौं मनमैजुको संयुक्त आयोजनामा भएको हो।

तारकेश्वर–८, शान्तिटोलस्थित प्रारम्भ वर्ल्ड स्कुल एण्ड कलेजमा सञ्चालन भएको कार्यक्रमलाई प्रारम्भ वर्ल्ड स्कुल एण्ड कलेजले सहयोग गरेको छ भने प्राविधिक सहयोग कान्तिपुर ब्लड बैंकले प्रदान गरेको थियो ।

लायन्सका पदाधिकारीहरूले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवामध्ये एक भएको उल्लेख गर्दै अस्पतालमा उपचाररत बिरामीका लागि आवश्यक रगतको सहज उपलब्धता सुनिश्चित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका छन्।

डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूले सामाजिक सेवाका विविध कार्यक्रमलाई निरन्तरता दिँदै आएको अवस्थामा रक्तदान अभियानले मानव सेवाप्रतिको लायन्सको प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

रक्त अभावका कारण कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सबै स्वस्थ नागरिकलाई रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेकाे थियोे ।

रक्तदान गर्ने रक्तदाताहरूलाइ प्रमाणपत्र कार्यक्रममा लायन्स क्लबका लिडरहरूले प्रदान गरिएको थियोे ।लायन्स क्लबले रक्तदान कार्यक्रम संचालन गरेपछि राजधानीमा रगतको अभाव कम हुदै गइरहेको देखिन्छ ।