नाबालिगमाथि जबर्जस्ती करणीदेखि साइबर ब्ल्याकमेलिङसम्म : जिल्ला प्रहरी कार्यालय बागलुङमा १९ मुद्दा दर्ता

-


     हिडन खबर    
     असाेज ३ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज ३

जिल्ला प्रहरी कार्यालय बागलुङले भदौ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै विभिन्न गम्भीर अपराध तथा साइबर अपराधका घटनामा अनुसन्धान तीव्र पारिएको जनाएको छ।

प्रहरीका अनुसार बागलुङ नगरपालिका–८ मा १५ वर्षीया नाबालिग बालिकालाई ललाईफकाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ। पक्राउ परेका व्यक्तिमाथि पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, पर्वतको जलजला गाउँपालिका–७ स्थायी घर भई हाल बागलुङ नगरपालिका–३ बस्दै आएका ३९ वर्षीय वीरबहादुर सुनारलाई साइबर अपराध तथा ब्ल्याकमेलिङको आरोपमा पक्राउ गरिएको छ।

प्रहरीका अनुसार सुनारले एक महिलासँगको चिनजानका क्रममा खिचिएको तस्बिर देखाउँदै शारीरिक सम्बन्ध राख्न दबाब दिएका थिए। प्रस्ताव अस्वीकार गरेपछि उक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरी बदनाम गराउने धम्की दिएको र पछि फेसबुकमार्फत तस्बिर पोस्ट गरी चरित्रहत्या गरेको आरोप छ। पीडितको जाहेरीपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भरुवा बन्दुक, लागूऔषध र फरार प्रतिवादी पक्राउ

भदौ महिनामा प्रहरीले अवैध हातहतियार नियन्त्रण अभियानअन्तर्गत तीन नाल भरुवा बन्दुक र तीन राउन्ड गोली बरामद गरेको जनाएको छ। साथै १ किलो ५०० ग्राम गाँजा र ३८० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार चालु मुद्दाका आठ जना तथा अदालतबाट कैद र जरिवाना सजाय तोकिएका पाँच जना फरार प्रतिवादीलाई समेत पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको छ।

महिला तथा बालबालिकासम्बन्धी १४ मुद्दा

भदौ महिनाभर जिल्लामा कुल १९ वटा मुद्दा दर्ता भएकामध्ये १४ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित रहेका छन्। सोही अवधिमा तीन जनाले झुन्डिएर आत्महत्या गरेको तथ्यांक पनि प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायण अर्यालका अनुसार जिल्लामा अपराध न्यूनीकरणका लागि सादा पोसाकमा प्रहरी परिचालन, क्राइम म्यापिङ तथा विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।

प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउँदै समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउने अभियान जारी रहेको जनाएको छ।