
बागलुङ, असोज २ संविधान दिवस २०८३ को अवसरमा बागलुङ कारागारमा रहेका बन्दीहरूको सीप विकास, आत्मनिर्भरता तथा मनोरञ्जनमा सहयोग पुर्याउने उद्देश्यले सिलाइ मेसिन, खेलकुद सामग्री लगायतका सामग्री हस्तान्तरण गरिएको छ।
DIRDC, नेपाल एनजिओ महासंघ (NGO Federation), चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल तथा एकीकृत कार्यालयको संयुक्त पहलमा आयोजित कार्यक्रममा कारागारमा रहेका बन्दीहरूका लागि आवश्यक सामग्री प्रदान गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख तथा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष अमर थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमका वक्ताहरूले कारागारभित्र रहेका व्यक्तिहरूको पुनर्स्थापना, सीप विकास र सकारात्मक जीवनशैली निर्माणमा यस्ता सहयोगले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले संविधानले सुनिश्चित गरेका मानवअधिकार, समानता र सामाजिक न्यायका मूल्यहरू व्यवहारमा कार्यान्वयन गर्न राज्य तथा सरोकारवाला निकायहरूको साझा प्रयास आवश्यक रहेको धारणा राखेका थिए।
सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी संस्थाहरूले संविधान दिवसलाई केवल औपचारिक समारोहमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउन खोजिएको बताएका छन्। उनीहरूले बन्दीहरूको क्षमता अभिवृद्धि तथा पुनःसमाजीकरणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।
कार्यक्रमका आयोजक तथा सहभागीहरूले संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरण तथा समावेशी समाज निर्माणको कामना समेत गरेका छन्।










