
काठमाडौं भदौ २८
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको सरसफाइ र पुनर्स्थापनामा विभिन्न संघसंस्था तथा स्वयंसेवी समूह सक्रिय बनेका छन्। यसैक्रममा नेकपा एमाले सम्पर्क विशेष संगठन कमिटीले नुवाकोटको विदुर नगरपालिका–५ देविघाट क्षेत्रमा दुई सयभन्दा बढी स्वयंसेवक परिचालन गर्दै श्रमदान कार्यक्रम सञ्चालन गरेको छ।

भोटेकोशी बाढीले प्रभावित बनाएको नुवाकोटको देविघाट क्षेत्रमा अहिले सरसफाइ र पुनर्स्थापनाको काम तीव्र पारिएको छ। नेकपा एमाले सम्पर्क विशेष संगठन कमिटीको आयोजनामा सञ्चालन गरिएको श्रमदान कार्यक्रममा स्वयंसेवकहरूले घरभित्र र सार्वजनिक स्थानमा थुप्रिएको लेदो, फोहोर तथा बाढीले बगाएर ल्याएका अवशेष हटाउने काम गरेका छन्।

विपद्मा पीडितसँगै, सेवामा सदैव अग्रसर” भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा देविघाटस्थित घरपरिवार तथा देविघाट ज्येष्ठ नागरिक संरक्षण तथा अनुसन्धान केन्द्र परिसरमा विशेष सरसफाइ गरिएको आयोजकले जनाएको छ।

काठमाडौंबाट प्रभावित क्षेत्रमा पुगेका स्वयंसेवकहरूले विपद्को घडीमा प्रत्यक्ष रूपमा सेवा गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनीहरूले अन्य स्वयंसेवकलाई पनि प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्न आग्रह गरेका छन्।

यता गोरखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रूपेश रोक्काले बाढीका कारण वातावरण दूषित भएको, धेरै घरमा लेदो र फोहोर थुप्रिएको अवस्थामा काठमाडौंबाट तीन वटा ठूला सवारीमार्फत स्वयंसेवकहरू परिचालन गरिएको जानकारी दिनुभयो।ज्येष्ठ नागरिक आश्रमसहित विभिन्न घर तथा सार्वजनिक संरचनामा सरसफाइ अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ।

आयोजकका अनुसार करिब दुई सय स्वयंसेवक सहभागी भएको अभियानले प्रभावित क्षेत्रमा सरसफाइ, पुनर्स्थापना तथा स्थानीयवासीलाई राहत पुर्याउन सहयोग पुगेको छ।
स्थानीयवासीले विपद्को कठिन समयमा गरिएको श्रमदान र सहयोगलाई सकारात्मक रूपमा लिँदै यस्ता अभियानले पुनर्निर्माणमा थप ऊर्जा मिलेको बताएका छन्।
विपद्पछि प्रभावित क्षेत्रमा सरकारी निकायसँगै राजनीतिक दल, सामाजिक संस्था र स्वयंसेवी समूहको सक्रियता बढिरहेका बेला देविघाटमा सञ्चालन गरिएको यो श्रमदान अभियानलाई स्थानीयले सहकार्य र मानवीय सेवाको उदाहरणका रूपमा लिएका छन्।













