
काठमाडौं । लामो समयदेखि उद्घोषिका तथा गायिकाका रूपमा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय शितल शर्मा सम्मानित भएकी छन्।
५औँ म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ समारोहका अवसरमा विभिन्न मेला–महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरूमा कुशल उद्घोषणामार्फत छुट्टै पहिचान स्थापित गरेको योगदानको कदर गर्दै शर्मालाई सम्मान गरिएको हो।
वर्षौंदेखि मञ्च उद्घोषणालाई आफ्नो कर्म र पहिचान बनाएकी शर्माले सांगीतिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूमा सफल उद्घोषिकाका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। उनको आत्मविश्वासी प्रस्तुति र प्रभावशाली उद्घोषण शैलीले दर्शक तथा आयोजकहरूको मन जित्दै आएको बताइएको छ।
कार्यक्रममा प्रदान गरिएको उक्त सम्मानले शर्माको कला तथा उद्घोषण यात्रालाई थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।
सम्मान ग्रहणपछि शर्माले आफूलाई माया, साथ र सम्मान प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि कला र उद्घोषणाको क्षेत्रमा अझ समर्पित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।











