
बागलुङ, भदौ २६
बागलुङ प्रहरीले बडिगाड गाउँपालिका–५ स्थित सामुदायिक वन क्षेत्रबाट तीन थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा बडिगाड गाउँपालिका–५ दगास्थित थानपति सामुदायिक वनको बाँसघारीभित्र बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको तीन थान भरुवा बन्दुक फेला पारेको सुचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।
प्रहरीका अनुसार बरामद भएका बन्दुकहरू नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उक्त हतियार कसले र किन त्यहाँ राखेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध हतियार नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न प्रहरीको निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको जनाएको छ।










