
बागलुङ, भदौ २६
बागलुङ प्रहरीले १ हजार ५०० ग्राम गाँजा र ३८० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका–३ बुर्तिबाङस्थित एक होटल तथा रेष्टुरेन्टमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले छापा मार्दा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो।
पक्राउ पर्नेमा मिना होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएकी ढोरपाटन नगरपालिका–३ निवासी ४५ वर्षीया मिना थापा भण्डारी रहेकी छन्।
प्रहरीले होटल तथा रेष्टुरेन्टमा खानतलासी गर्दा गाँजाजस्तो गन्ध आउने धुलो पदार्थ १ हजार ५०० ग्राम र चरेसजस्तो गन्ध आउने कालो ठोस पदार्थ ३८० ग्राम फेला पारेको जनाएको छ।
बरामद लागूऔषधसहित नियन्त्रणमा लिइएकी थापा भण्डारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। अनुसन्धानका लागि बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।









