जिल्ला शिक्षा समिति कास्कीद्वारा कलेज सञ्चालकसँग अन्तरक्रिया

- शिक्षा नीति र नियमावलीको प्रभावकारी कार्यान्वयनमा जोड

-


     हिडन खबर    
     भाद्र २६ गते २०८३ मा प्रकाशित


पोखरा, भदौ २६

जिल्ला शिक्षा समिति कास्कीले जिल्लामा सञ्चालित निजी तथा सार्वजनिक कलेजका सञ्चालकहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन जिल्ला शिक्षा समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले गर्नुभएको थियो।

उद्घाटनका क्रममा प्रमुख पौडेलले विद्यमान शिक्षा नीति तथा नियमावलीअनुसार उच्च शिक्षा प्रदायक संस्थाहरू सञ्चालन नभएको गुनासो प्राप्त भएपछि छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
उहाँले कलेज सञ्चालकहरूले भोगिरहेका समस्या तथा चुनौतीहरूको पहिचान गर्दै समाधानमुखी ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

प्रमुख पौडेलले विधि र नियमको विपरीत कुनै पनि गतिविधि हुन नहुने उल्लेख गर्दै शिक्षा प्रदान गर्ने संस्थाहरू अझ बढी मर्यादित, अनुशासित र जिम्मेवार वातावरणमा सञ्चालन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, जिल्ला समन्वय अधिकारी नवराज बराललगायतले शिक्षा क्षेत्रका समसामयिक विषयमा धारणा राख्नुभएको थियो। विभिन्न कलेजका सञ्चालकहरूले पनि आफूहरूले भोग्दै आएका कानुनी तथा व्यावहारिक जटिलता, चुनौती र समाधानका सम्भावनाबारे आफ्नो भनाइ राखेका थिए।

जिल्ला शिक्षा समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले गर्नुभएको थियो।