
बागलुङ, भदौ २५ । गलकोट उद्योग वाणिज्य संघ गलकोटको सातौँ वार्षिकोत्सव तथा महिला उद्यम विकास समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले स्थानीयस्तरमा उद्योग तथा व्यवसायको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको विकास तथा रोजगारी सिर्जनाका लागि उद्योगी–व्यवसायीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
नगरप्रमुख गैरेले महिलालाई उद्यम तथा व्यवसायमा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो। महिला उद्यमीको क्षमता विकास, सीप अभिवृद्धि तथा व्यवसाय विस्तारका लागि स्थानीय तहबाट आवश्यक सहयोग र सहकार्य गरिने उहाँले बताउनुभयो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले महिला उद्यमीका लागि उद्यमशीलता विकास तथा व्यवसाय सञ्चालनसम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणका क्रममा अध्यक्ष कँडेलले महिलालाई उद्यम तथा व्यवसायमा सक्रिय रूपमा सहभागी गराउँदै आर्थिक रूपमा सबल बनाउनुपर्ने बताउनुभयो। व्यवसाय सुरु गर्नुअघि बजारको आवश्यकता पहिचान, लगानीको उचित व्यवस्थापन तथा उत्पादनको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
स्थानीय स्रोत, साधन र सीपको उपयोग गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सके महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्नुका साथै परिवार र समाजको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने उहाँले बताउनुभयो।
कार्यक्रममा गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष ढालिन्द्रप्रसाद गौतमले संघको उद्देश्य र आगामी कार्यदिशाबारे प्रकाश पार्दै गलकोट क्षेत्रको उद्योग, व्यापार तथा व्यवसायको विकाससँगै व्यवसायीको हकहित र स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धनमा संघले निरन्तर काम गर्दै आएको बताउनुभयो।
कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, गलकोट उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष वीरेन्द्र श्रेष्ठ र संस्थापक सदस्य मञ्जु शर्मा चालिसेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष ढालिन्द्रप्रसाद गौतमको अध्यक्षता, उपाध्यक्ष कौशिला घर्ती मगरको स्वागत तथा महासचिव श्यामसुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो।
यसैबीच, महिला उद्यम विकास समिति गलकोटको अध्यक्षमा धना खड्काथोकी चयन हुनुभएको छ। समितिको प्रथम अधिवेशनले खड्काथोकीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा शारदा आचार्य, सचिवमा धना खड्का, कोषाध्यक्षमा सल्मा थापा र सहसचिवमा ईश्वरी चालिसे चयन हुनुभएको छ।
त्यस्तै सदस्यमा गंगा बोहोरा केसी, डिना थापा, शान्ति खड्का, खुसी भण्डारी, प्रमिला श्रीस र लक्ष्मी काउचा चयन हुनुभएको छ।
समितिको सल्लाहकारमा मञ्जु शर्मा चालिसे, मिना श्रेष्ठ, कौशिला घर्ती, शिवकुमारी खत्री र बालकुमारी श्रीस रहनुभएको छ।













