
पोखरा, भदौ २४ । पोखरेली पर्यटन व्यवसायी संस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्को अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन्
।परिषद्को २६औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशनबाट भुजेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
मंगलबार सम्पन्न पदस्थापन कार्यक्रममा ट्रेकिङ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (TAAN) का हरिराम अधिकारी प्रथम उपाध्यक्ष तथा ट्रेकिङ इक्विपमेन्ट शप एसोसिएसनका नारायणप्रसाद सुवेदी द्वितीय उपाध्यक्षमा निर्वाचित भएका छन्।
त्यसैगरी, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्स (NARA) का मिलन तिवारी महासचिव र नेपाल टुरिस्ट भेहिकल एसोसिएसनका बाबुराम पाण्डे सचिवमा चयन भएका छन्। महिला पर्यटन व्यवसायी मञ्चकी शोभाकुमारी अधिकारी सहकोषाध्यक्ष तथा जीवनराज सापकोटा कार्यकारी सदस्यमा निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष भुजेलले हालैका बाढीपहिरोका कारण नेपालबारे अन्तर्राष्ट्रिय बजारमा फैलिएको नकारात्मक सन्देश चिर्दै सुरक्षित र सञ्चालनमा रहेका पर्यटकीय गन्तव्यबारे स्पष्ट जानकारी प्रवाह गर्न आवश्यक रहेको बताए। यसका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वय हुनुपर्ने उनको भनाइ छ।
पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्न हवाई सम्पर्क विस्तारलाई प्राथमिकतामा राखिने उनले बताए। विशेषगरी फ्लाई दुबईको उडानलाई सफल बनाउन पहल गरिने तथा पोखरालाई वेलनेस (स्वास्थ्य तथा आध्यात्मिक) पर्यटन र सांगीतिक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ। साथै अन्तर्राष्ट्रियस्तरका सांगीतिक कार्यक्रम पोखरामा भित्र्याउने तयारीसमेत गरिने उनले जानकारी दिए।
परिषद्मा गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पोखरामा क्रियाशील १४ वटा पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिहरू सदस्य रहने व्यवस्था रहेको छ।









