काठमाडौंमा आपत्कालीन रक्तदान अभियान, मोटरसाइकल राइडरहरूको उल्लेखनीय सहभागिता

-


     हिडन खबर    
     भाद्र २१ गते २०८३ मा प्रकाशित



काठमाडौं, भदाै २१

देशका विभिन्न अस्पतालमा रगतको अभाव हुन नदिन लायन्स क्लबहरूले काठमाडौं उपत्यकामा नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

सोही अभियानअन्तर्गत लायन्स क्लब अफ काठमाडौं कोर सिटी ले शनिबार खुसीबुँस्थित समशेर मोटरसाइकल वर्कसपमा आपत्कालीन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

लायन्स क्लब अफ काठमाडौं कोर सिटीको आयोजना तथा समशेर मोटरसाइकल वर्कसपको सहकार्यमा आयोजित कार्यक्रममा मोटरसाइकल राइडर, युवा तथा विभिन्न क्षेत्रका सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमलाई जनमैत्री सामुदायिक सेवा केन्द्रले प्राविधिक सहयोग गरेको थियो।

क्लबका अध्यक्षले पछिल्लो समय अस्पतालहरूमा रगतको माग बढ्दै गएको अवस्थामा अभाव हुन नदिन काठमाडौंमा हरेक हप्ता विभिन्न स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। उनले यसपटक विशेष रूपमा मोटरसाइकल राइडर समुदायको उल्लेखनीय सहभागिता रहेको बताउँदै युवाहरूको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता प्रशंसनीय रहेको बताए।

रक्तदान जीवनदान हो” भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा संकलित रगत बिरामीहरूको उपचारका लागि उपलब्ध गराइने जनाइएको छ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालले चालु वर्ष ‘Leading With Purpose’ अभियानअन्तर्गत स्वास्थ्य, मानव सेवा, रक्तदान तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। नियमित रक्तदान अभियानले आकस्मिक दुर्घटना, शल्यक्रिया तथा विभिन्न रोगका बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।