
काठमाडौं, भदौ १६ – हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण विभिन्न अस्पतालमा रगतको अभाव हुन थालेपछि लायन्स क्लब अफ काठमाडौं कोर सिटी र काठमाडौं कोर सिटी क्लबले आपत्कालीन रक्तदान कार्यक्रम सञ्चालन गरेका छन्।

काठमाडौंको केलटोलमा सोमबार आयोजित “इमर्जेन्सी ब्लड डोनेसन क्याम्प” मा लायन्सकर्मी, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। बाढी तथा पहिरोका घाइते र उपचाररत बिरामीहरूलाई आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल प्रहरी, मसानगल्ली व्यापार संघ तथा स्थानीय सामाजिक संघसंस्थाहरूको समेत सहकार्य रहेको थियो। विपद्का कारण अस्पतालहरूमा बढ्दो रगतको मागलाई सम्बोधन गर्न रक्तदान अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

आयोजकका अनुसार प्राकृतिक विपद्का बेला मानवीय सेवाभावलाई प्राथमिकता दिँदै रक्तदानमार्फत जीवन बचाउने अभियानलाई निरन्तरता दिइनेछ। कार्यक्रममा सहभागीहरूले रक्तदान जीवनदान भएको उल्लेख गर्दै आवश्यक पर्दा सबै नागरिकले रक्तदानमा अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले विपद्को समयमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको आयोजकको भनाइ छ।











