
कास्की भदौ १२
पोखरा, भदौ १२ – पोखरा ट्रेडमलमा व्यवसाय सञ्चालन गर्दै आएका महिला व्यवसायीहरूको संस्था ‘दिदीबहिनी समूह’ले यस वर्ष तीज पर्व मनाउन छुट्याएको रकम भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको छ।
समूहले यस वर्ष तीज विशेष कार्यक्रम आयोजना नगर्ने निर्णय गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको ५० हजार १ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी प्रभावितको सहयोगार्थ प्रदान गरेको जनाएको छ।
हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्य जारी रहेका बेला आफ्नो पर्व–उत्सवको खर्चलाई विपद्मा परेका नागरिकको सहयोगमा समर्पित गर्ने दिदीबहिनी समूहको निर्णयलाई मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।
समूहका अनुसार तीज केवल रमाइलो र उत्सवको पर्व मात्र नभई सामाजिक सद्भाव, सहकार्य र मानवीय सेवाको सन्देश दिने अवसर पनि हो। यही भावनाअनुसार यस वर्षको उत्सव खर्चलाई विपद्पीडितको सहयोगमा खर्च गर्ने निर्णय गरिएको हो।
दिदीबहिनी समूहले विपद्को कठिन घडीमा सबै व्यक्ति, संस्था तथा समुदायलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गर्दै बाढी प्रभावित नागरिकको शीघ्र उद्धार, राहत वितरण तथा पुनःस्थापनाको कार्य प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिएको छ।
महिला समूहको यो कदमले पर्व–उत्सवमा हुने खर्चलाई सामाजिक सेवामा रूपान्तरण गर्न सकिने सन्देश दिएको छ। विशेषगरी तीज पर्वको अवसरमा मनोरञ्जन र भड्किलो खर्चभन्दा मानवीय सेवामा योगदान दिन सकिने उदाहरण प्रस्तुत गर्दै यसले अन्य महिला दिदीबहिनी तथा सामाजिक संघसंस्थालाई पनि सकारात्मक प्रेरणा दिएको छ।










