
काठमाडौं, भदौ १२
चीनको तिब्बत क्षेत्रबाट आएको बाढी तथा पहिरोका कारण रसुवा लगायतका विभिन्न क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति संवेदनशील हुँदै रोटरी क्लब अफ ज्ञानेश्वरले बाढीपीडितका लागि राहत सामग्री सहयोग गरेको छ।
क्लबले प्रभावित परिवारको तत्काल राहत तथा दैनिकी सहज बनाउन गृहमन्त्री सुधन गुरूङकाे संस्था ‘हामी नेपाल’ संस्थामार्फत करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री रसुवा पठाएको जनाएको छ।

रोटरी क्लब अफ ज्ञानेश्वरकी चार्टर अध्यक्ष रसुमिला श्रेष्ठका अनुसार विपत्तिको घडीमा पीडित नागरिकको साथमा उभिन क्लबले मानवीय सहयोग अभियान सञ्चालन गरेको हो।
राहत सामग्रीमा खानेपानी, चिउरा, चाउचाउ, भुजा, दालमोठ, नुन, खानेतेल, सेनिटरी प्याड, टन्ना, रुमाल तथा अत्यावश्यक औषधिलगायत सामग्री समावेश गरिएको छ। ती सामग्री प्रभावित क्षेत्रमा वितरणका लागि पठाइएको श्रेष्ठले जानकारी दिइन्।

श्रेष्ठले प्राकृतिक विपत्तिका बेला सबै संघसंस्था, सामाजिक अभियन्ता तथा सक्षम नागरिकले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै मानवीय संवेदनशीलता नै समाजको सबैभन्दा ठूलो शक्ति भएको बताइन्।

हाल रसुवा लगायत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यहरू जारी रहेका छन्। विपत्तिको यस कठिन समयमा विभिन्न सामाजिक संघसंस्था, स्वयंसेवी समूह तथा व्यक्तिहरूबाट भइरहेको सहयोगले पीडित परिवारमा आशा र भरोसा जगाएको छ।

रोटरी क्लब अफ ज्ञानेश्वरले आगामी दिनमा पनि विपद्बाट प्रभावित समुदायको सहयोगका लागि आवश्यक पहल र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।











