विपत्तिको घडीमा प्रधानमन्त्री राहत कोषमा बिप्लव हमालको १ लाख १ हजार १११ रुपैयाँ सहयोग

-


     हिड्न खबरदाता     
     भाद्र ११ गते २०८३ मा प्रकाशित


पर्वत, भदौ ११ – प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले पर्वतका सामाजिक अभियन्ता तथा उद्यमी बिप्लव हमालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।

हमालले बिहीबार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। बैंकमार्फत रकम जम्मा भएको भुक्तानी विवरणमा कारोबार सफल भएको उल्लेख गरिएको छ।

विपत्तिको कठिन घडीमा गरिएको सहयोगलाई प्रचारभन्दा पनि मानवीय दायित्वका रूपमा लिनुपर्ने बताउँदै हमालले विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउनु सबैको साझा जिम्मेवारी भएको बताए। उनले सहयोग रकम सानो वा ठूलोभन्दा पनि पीडित नागरिकको दुःखमा साथ दिनु महत्वपूर्ण हुने उल्लेख गर्दै आफ्नो क्षमताअनुसार सहयोग गर्न सबैलाई आग्रह गरे।

राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर तह अध्ययनरत हमाल सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय छन्। उनी रोटरी इन्टरनेशनलका असिस्टेन्ट गभर्नर तथा लायन्स इन्टरनेशनलका जोन चेयरपर्सनका रूपमा समेत विभिन्न सामाजिक सेवामूलक गतिविधिमा संलग्न रहँदै आएका छन्।

प्राकृतिक विपत्तिका कारण समस्यामा परेका परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारी कोषमा सहयोग गर्ने अभियानमा निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकको समेत सक्रिय सहभागिता आवश्यक रहेको हमालको भनाइ छ।

उनको सहयोगलाई विपत्तिबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता र मानवीय संवेदनाको उदाहरणका रूपमा हेरिएको छ।