
बागलुङ, साउन २१
बोलबम काँवरिया संघ बागलुङले साउनको चौथो सोमबार पारेर बागलुङ बजारमा बोलबम काँवर यात्रा आयोजना गर्ने भएको छ। सनातन धर्म, संस्कृति र धार्मिक परम्पराको संरक्षण गर्दै भक्तजनमा आध्यात्मिक शान्ति र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले साउन २५ गते यात्रा गर्न लागिएको संघले जनाएको छ।
संघका अध्यक्ष लक्ष्मीनारायण शाहका अनुसार सनातन धर्मप्रति आस्था राख्ने भक्तजनहरूको सहभागितामा बागलुङ बजारबाट कालिगण्डकी नदीसम्म पुगेर पवित्र जल संकलन गरिनेछ। त्यसपछि भक्तजनहरूले काँवरमा जल बोकेर पैदल यात्रा गर्दै बागलुङ नगरपालिका–४ स्थित गौरीधाम शिवमन्दिरमा पुग्ने कार्यक्रम रहेको छ।
गौरीधाम शिवमन्दिरमा जल अर्पण तथा पूजा–आराधना गरेपछि यात्रा समापन गरिने अध्यक्ष शाहले जानकारी दिए। विगतका वर्षहरूमा पनि यात्रा उत्साहजनक सहभागितासहित सम्पन्न हुँदै आएको उनले बताए।
विशेषगरी भारत तथा तराई क्षेत्रबाट बागलुङ आएर विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरूका साथै स्थानीय श्रद्धालुहरूको उल्लेखनीय सहभागिताले यात्रालाई थप भव्य बनाउँदै आएको शाहको भनाइ छ।
साउन महिना भगवान शिवको आराधनाका लागि विशेष मानिने भएकाले चौथो सोमबारको अवसर पारेर यात्रा आयोजना गर्न लागिएको उनले बताए।
यसैबीच, बोलबम काँवर यात्रामा सहभागी भक्तजनहरूको सुविधाका लागि बाङ्चौरलगायतका स्थानमा खानेपानी तथा जुस वितरण कार्यक्रम सञ्चालन गरिने भएको छ।
लायन्स क्लब अफ धौलागिरि बागलुङ, लायन्स क्लब अफ सालिग्राम तथा लियो क्लब अफ सालिग्रामको संयुक्त आयोजनामा सेवा कार्यक्रम सञ्चालन गरिने लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिए।
आयोजकका अनुसार धार्मिक आस्था, सामाजिक सद्भाव र सेवाभावलाई एकसाथ प्रवर्द्धन गर्ने उद्देश्यले यात्राको तयारी तीव्र पारिएको छ। भक्तजनहरूलाई यात्रामा सहभागी भई धार्मिक पुण्य आर्जन गर्न संघले आग्रह गरेको छ।










