ग्यास सिलिन्डर कालोबजारीमा संलग्न व्यक्ति पक्राउ६०सिलिन्डर बरामद

-


     हिडन खबर    
     श्रावण १९ गते २०८३ मा प्रकाशित


बागलुङ, साउन १९

बागलुङमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री–वितरण गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पछिल्लो समय बजारमा उपभोक्ता ठगी र कालोबजारी नियन्त्रणलाई प्राथमिकता दिइरहेका बेला प्रहरीले ठूलो परिमाणमा ग्यास सिलिन्डर बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–१३ निवासी ४३ वर्षीय भूपति जैसीलाई एलपी ग्यास कालोबजारी गरेको आरोपमा नियन्त्रणमा लिइएको छ। प्रहरीले रामरेखा क्षेत्रमा शंकास्पद अवस्थामा गुडिरहेको पिकअप भ्यान जाँच गर्दा ४१ वटा भरिएका र १९ वटा खाली गरी कुल ६० वटा गृहलक्ष्मी ब्रान्डका ग्यास सिलिन्डर फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार ती सिलिन्डर लुकाइछिपाइ बजार मूल्यभन्दा बढी रकम असुली गरी बिक्री–वितरण गर्न लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका जैसी र पिकअप भ्यानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रशासन कार्यालय बागलुङबाट कालोबजारीसम्बन्धी कसुरमा सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले अत्यावश्यक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, भण्डारण गरी महँगो मूल्यमा बिक्री गर्ने तथा उपभोक्तालाई ठगी गर्ने गतिविधिविरुद्ध निगरानी कडा पारिएको जनाएको छ। बजारमा कुनै पनि प्रकारको कालोबजारी वा अनियमितता देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत आग्रह गरिएको छ।