राजसंस्था पुनःस्थापनाको माग गर्दै बागलुङमा हस्ताक्षरअभियान सुरु

-


     राजेशचन्द्र राजभण्डारी     
     श्रावण १९ गते २०८३ मा प्रकाशित


बागलुङ, साउन १९

राजसंस्था पुनःस्थापनाको माग गर्दै बागलुङमा हस्ताक्षर अभियान सुरु गरिएको छ। शाही युवा शक्ति नेपालको आयोजनामा तथा स्वतन्त्र नागरिक समूह बागलुङको समन्वयमा ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान–२०८३’ सञ्चालन गरिएको हो।

बागलुङ कालिका भगवती मन्दिरको मूल प्रवेशद्वार अगाडि आयोजित कार्यक्रममार्फत अभियानको शुभारम्भ गरिएको आयोजकले जनाएको छ। अभियानमार्फत राजसंस्था तथा सनातन हिन्दू राष्ट्रको पक्षमा जनमत सङ्कलन गरी सम्बन्धित निकायसमक्ष नागरिकको धारणा प्रस्तुत गर्ने उद्देश्य रहेको बताइएको छ।

अभियानका संयोजक तथा स्वतन्त्र नागरिक समूह बागलुङका अध्यक्ष बलराम हमालले राजसंस्थासम्बन्धी विषयमा जनमत अभिव्यक्त गर्ने अवसरका रूपमा हस्ताक्षर अभियान सञ्चालन गरिएको बताए। उनले विगतमा भएका राजनीतिक सहमति र ऐतिहासिक सन्दर्भहरूको सम्मान हुनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा बोल्दै मुक्तिनाथ पीठका उत्तराधिकारी स्वामी ऋषि प्रपन्नाचार्यले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न साझा राष्ट्रिय पहिचान आवश्यक रहेको बताए। उनले समाजमा सबै धर्म, भाषा र संस्कृतिको सम्मान हुनुपर्नेमा जोड दिए।

शाही युवा शक्ति नेपालका सचिव दीपेन्द्र घिमिरेले वर्तमान राजनीतिक परिस्थितिमा राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी बहसलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। उनले अभियानले नागरिकलाई आफ्नो धारणा अभिव्यक्त गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार बागलुङ बजारका विभिन्न स्थानमा हस्ताक्षर सङ्कलन केन्द्र स्थापना गरी सर्वसाधारणको सहभागिता जुटाइनेछ। अभियानमा विभिन्न वर्ग, समुदाय र पेशाका व्यक्तिहरूको सहभागिता रहेको जनाइएको छ।

पछिल्लो समय देशमा राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा विकास निर्माणका विषयलाई लिएर विभिन्न धारणा सार्वजनिक हुँदै आएका छन्। यही सन्दर्भमा केही समूहले राजसंस्था पुनःस्थापनाको माग उठाइरहेका छन् भने गणतन्त्र पक्षधर राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिहरूले वर्तमान व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्दै आएका छन्।

नेपालमा राजसंस्था पुनःस्थापना वा गणतन्त्रको सुदृढीकरण सम्बन्धी बहस समय–समयमा उठ्ने गरेको भए पनि यसको अन्तिम निर्णय लोकतान्त्रिक प्रक्रिया र जनमतका आधारमा हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ।

बागलुङमा सुरु भएको यो हस्ताक्षर अभियानले स्थानीय राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। अभियानप्रति जनसहभागिता र यसको प्रभाव आगामी दिनमा थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

सनातन हिन्दू अधिराज्य, राजसंस्था तथा राष्ट्रिय एकताको पक्षमा सञ्चालन गरिएको यस अभियानको संयोजक हालका बागलुङ नगरपालिका तथा तत्कालीन कालिका आदर्श गाउँ पञ्चायतका प्रधानपञ्च बलराम हमाल ठकुरी हुनुहुन्छ।