निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न, ५५० जनाभन्दा बढी लाभान्वित

-


     राजेशचन्द्र राजभण्डारी     
     श्रावण १८ गते २०८३ मा प्रकाशित


काठमाडौं, साउन १८

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूले सामाजिक सेवाका विविध कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्।

यसैक्रममा “We Serve” (हामी सेवा गर्छौं) भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालको आयोजना तथा ओम समाज डेन्टल हस्पिटलको सहकार्यमा चन्द्रागिरि नगरपालिका–१३, पुरानो नैकापस्थित कंकाली माध्यमिक विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा करिब ५५० जना विद्यार्थी, शिक्षक तथा विद्यालयका कर्मचारीहरूको निःशुल्क दन्त परीक्षण गरिएको क्लबले जनाएको छ।

कार्यक्रममा सहभागीहरूलाई दन्त स्वास्थ्यसम्बन्धी परामर्श तथा सचेतनामूलक जानकारीसमेत प्रदान गरिएको थियो।

विद्यालयस्तरमै स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरले विद्यार्थीहरूमा दन्त स्वास्थ्यप्रति जागरूकता बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ। स्वस्थ दाँत र मुस्कानले आत्मविश्वास वृद्धि गर्नुका साथै समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने बताइएको छ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरको सफल संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्लब सचिव लायन पुष्पाञ्जली वाग्लेको विशेष प्रशंसा गरिएको छ।

त्यसैगरी, कार्यक्रम सफल बनाउन सहयोग गर्ने ओम समाज डेन्टल हस्पिटल, कंकाली माध्यमिक विद्यालय परिवार, चिकित्सक टोली, स्वास्थ्यकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेको छ।

लायन्स क्लबले समाजमा स्वास्थ्य, शिक्षा तथा मानवीय सेवासम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। “मानव सेवाभन्दा ठूलो धर्म छैन, मुस्कानभन्दा ठूलो उपहार छैन” भन्ने सन्देशका साथ सम्पन्न भएको शिविरले समुदायमा सकारात्मक प्रभाव छाडेको सहभागीहरूको भनाइ छ।