काठमाडौंमा लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न

-


     हिडन खबर    
     श्रावण १८ गते २०८३ मा प्रकाशित


काठमाडौं, साउन १८ । “हामी सेवा गर्छौं” भन्ने मूल नाराका साथ स्थापित संसारकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था Lions International अन्तर्गत Lions International District 325 K Nepal को बागमती एरियामा रहेका विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्यता ग्रहण (Induction & Joint Installation) कार्यक्रम काठमाडौंको गंगबुस्थित बीजी बैंक्वेटमा भव्य रूपमा सम्पन्न भएको छ।

लायन वर्ष २०२६/२७ का लागि आयोजित कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय निर्देशक (PID) बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा जिल्ला गभर्नर रमेश अधिकारी, प्रथम उपजिल्ला गभर्नर विष्णुहरि फुयाल, द्वितीय उपजिल्ला गभर्नर हसन गोपाली, क्याबिनेट सचिव गणेश जीसी, क्याबिनेट ट्रेजरर चुडामणि सिलवाल, प्रमुख सल्लाहकार मीनराज काफ्ले, डिस्ट्रिक्ट पीआरओ इन चिफ सुरेन्द्रबाबु श्रेष्ठ लगायत जिल्ला तथा विभिन्न क्लबका वरिष्ठ लायन नेतृत्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बागमती एरियाअन्तर्गतका विभिन्न क्लबका नव-निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा कार्यसमिति पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो। साथै नयाँ सदस्यहरूलाई लायन्सको सदस्यता प्रदान गर्दै सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

क्लस्टर चिफ लायन तमन्ना थापा, रिजन चेयरपर्सन काशीनाथ पन्त तथा जोन चेयरपर्सन विजय गुरुङ र आयुष महर्जनको समन्वयमा सम्पन्न कार्यक्रमले बागमती क्षेत्रका लायन्स क्लबहरूबीच सहकार्य, नेतृत्व विकास र सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमका इन्स्टलेसन चिफ तथा प्रमुख कार्यकारी निर्देशक राजु बाबु श्रेष्ठले नवपदस्थापित सम्पूर्ण क्लब अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले लायन्सको सेवा अभियानलाई समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउन सबैले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।