
बागलुङ, साउन १६
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट ढालेन्द्र माझी जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
शनिबार बागलुङ नगरपालिका–३ स्थित राधाकृष्ण मन्दिरको सभाकक्षमा सम्पन्न मतगणनाअनुसार माझीले ९३ मत प्राप्त गर्दै सभापतिमा विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी पुनमप्रसाद शर्माले ८२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।
उपसभापतिमा खिमानन्द पौडेल ९९ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी देवजंग बुढाथोकीले ७५ मत प्राप्त गरेका थिए।
सचिव पदमा लिलबहादुर (बबिन) खत्री १११ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश रिजालले ६५ मत प्राप्त गरेका थिए।
त्यस्तै, सहसचिव पदमा हेमलाल उपाध्याय (बालकृष्ण शर्मा) ८८ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कमलप्रसाद खरेलले ८५ मत प्राप्त गरेका थिए।
यसअघि २०८३ जेठ २३ गते गलकोटमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट पुनमप्रसाद शर्माको नेतृत्वमा जिल्ला कार्यसमिति घोषणा गरिएको थियो। त्यसबेला अध्यक्षका अर्का आकांक्षी ढालेन्द्र माझी पक्षले अधिवेशनस्थलमै प्रक्रिया मिचिएको भन्दै विरोध जनाएको थियो।
अधिवेशनको प्रक्रियासम्बन्धी विषयमा केन्द्रमा उजुरी परेपछि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला समितिको गठन बदर गर्दै पुनः निर्वाचन गराउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार सम्पन्न निर्वाचनबाट माझीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन भएको हो।











