
पोखरा, साउन १४
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत गण्डकी क्षेत्रको आयोजनामा पोखरास्थित कम्युनिटी सपोर्ट ग्रुप, भलाम परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ भविष्य निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनलका पूर्व इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी, फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर विष्णुहरि फुयाल, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर हसनकुमार गोपाली लगायतका लायन्स लिडरहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपणको महत्वपूर्ण भूमिका रहेको बताएका थिए। उनीहरूले जलवायु परिवर्तनका चुनौती सामना गर्न तथा भावी पुस्ताका लागि स्वच्छ र हराभरा वातावरण सुनिश्चित गर्न वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

लायन्स अभियानको मूल मन्त्र “वी सर्भ (We Serve)” लाई आत्मसात् गर्दै सामाजिक सेवासँगै वातावरण संरक्षणका क्षेत्रमा पनि लायन्स क्लबहरू सक्रिय रूपमा लागिपरेको उल्लेख गरिएको थियो।

कार्यक्रमका सहभागीहरूले “वृक्षारोपण गरौं, प्रकृतिको संरक्षण गरौं र हराभरा भविष्य निर्माण गरौं” भन्ने सन्देश प्रवाह गर्दै समुदायस्तरमा हरित वातावरण निर्माणका लागि सबैलाई आ–आफ्नो स्थानबाट योगदान दिन आग्रह गरेका थिए।
आयोजकका अनुसार वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक उत्तरदायित्व वहन गर्ने लायन्स अभियानलाई थप प्रभावकारी बनाएको छ।











