एमाले–माओवादीबीच प्रदेश सरकार गठनमा सहमति

-


     हिडन खबर    
     श्रावण ९ गते २०८३ मा प्रकाशित


काठमाडौं, साउन ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ।

शनिबार सार्वजनिक गरिएको सहमति पत्रमा प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने समझदारी भएको उल्लेख गरिएको छ। सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले नेतृत्व गर्नेछ। दुवै दलले ती प्रदेशमा संयुक्त सरकार गठन गरी सञ्चालन गर्ने सहमति गरेका छन्।

त्यसैगरी, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व तथा सहभागिताको स्वरूप तय गर्ने समझदारी भएको सहमतिपत्रमा उल्लेख छ।

पछिल्लो समय प्रदेश सरकार गठन, बजेट निर्माण तथा राजनीतिक अस्थिरताका विषयमा देखिएका विवाद र अवरोधलाई समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि तथा तीव्र विकासलाई प्राथमिकता दिने उद्देश्यका साथ सहमति गरिएको जनाइएको छ।
सहमति पत्रमा दुवै दलले जनताको चाहनाअनुसार प्रदेश सरकारहरूलाई प्रभावकारी बनाउँदै विकास निर्माणका कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो सहमतिलाई प्रदेश सरकारहरूको नयाँ राजनीतिक समीकरणका रूपमा हेरिएको छ, जसले आगामी दिनमा प्रदेशस्तरको सत्ता समीकरण र विकासका कार्यक्रमहरूमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।