
बागलुङ, असार २९
बागलुङमा घरको पर्खाल भत्किँदा पुरिएर एक पाँच वर्षीय बालकको मृत्यु भएको छ।
ढोरपाटन नगरपालिका–२ सलामकोटस्थित घरको पर्खाल भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी घरको आँगनमा खेलिरहेका बेला अचानक पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिए।
पर्खालले पुरिएर गम्भीर घाइते भएका भण्डारीलाई तत्काल उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरी नायब निरीक्षक भट्टराईका अनुसार घर अप्ठ्यारो भिरालो स्थानमा रहेको र कच्चो जगमा बनाइएको पिँढीको मुख्य पर्खाल भत्किँदा खेलिरहेका बालक पुरिएका हुन्। आफन्तले तत्काल उद्धार गरी अस्पताल पुर्याए पनि उनको ज्यान बचाउन नसकिएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तस्बिर एआइ









