
पाेखरा असार २८
लामोडहरस्थित गण्डकी आदर्श एकेडेमीले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आइतवार सम्पन्न गरेको छ।
विद्यालयका अध्यक्ष खड्गबहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक कृष्णप्रसाद सापकोटाले विद्यार्थी तथा अभिभावकलाई अभिमुखीकरण गराएका थिए। उनले विद्यालयले विद्यार्थीको सुविधा र हितका लागि निरन्तर प्रयास गर्दै आएको उल्लेख गर्दै शिक्षक, विद्यार्थी र अभिभावकको सकारात्मक साथले विद्यालयको प्रगति सम्भव भएको बताए। साथै, विद्यार्थीलाई अभिभावकप्रति उत्तरदायी र अभिभावकलाई विद्यार्थीप्रति जिम्मेवार हुन आग्रह गरे।
सापकोटाले होटेल म्यानेजमेन्ट र कम्प्युटर विषय समूहमा अध्ययन सञ्चालन भइरहेको विद्यालयमा प्रयोगशालालगायतका सुविधा पर्याप्त रहेको जानकारी दिए। आधुनिक प्रविधि र समयानुकूल पठनपाठनमा जोड दिइएको जनाउँदै उनले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि विशेष कार्यक्रमहरू सञ्चालन भइरहेको बताए।विद्यालयकी प्रिन्सिपल मञ्जू सापकोटाले विद्यालयले एसइई र एसएलसीमा शतप्रतिशत नतिजा हासिल गर्नुका साथै जीवनोपयोगी सीप र नेतृत्व क्षमता विकासमा ध्यान दिएको बताइन्।
उनले विद्यालय र अभिभावकबीचको सहकार्यले मात्र विद्यार्थीको सफलता सम्भव हुने उल्लेख गर्दै असल नागरिक उत्पादन गर्ने उद्देश्यसहित विद्यालयले गतिविधि सञ्चालन गरिरहेको जानकारी दिइन्।
कक्षा १२ का विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा संयोजक वर्षा गुरुङ, शिक्षक अखिलेश्वर भण्डारी, छात्रा स्वेच्छा विश्वकर्मा, छात्रा दीपिका भुजेललगायतले मन्तव्य राखेका थिए। साजन सुनार र विद्या गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति दिएका थिए।
हालै सार्वजनिक भएको कक्षा १२ को नतिजामा गण्डकी आदर्शका विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण भएका थिए। यो उत्कृष्ट नतिजालाई निरन्तरता दिन वक्ताहरूले विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका थिए। यस वर्ष कक्षा ११ मा ३५ जना विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ।









