लोक तथा दोहोरीगीत प्रतिष्ठानले मुस्ताङमा गठन गर्‍यो पहिलो जिल्ला समिति

-


     हिडन खबर    
     असार १४ गते २०८३ मा प्रकाशित


मुस्ताङ, असार १४

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्थापना भएको लामो समयपछि मुस्ताङ जिल्लामा पहिलो पटक जिल्ला समिति गठन गरिएको छ।

शनिबार थासाङ गाउँपालिका–४, घासा, मुस्ताङमा आयोजित कलाकार भेलाले प्रतिष्ठानको ११ सदस्यीय जिल्ला तदर्थ समिति सर्वसम्मत रूपमा चयन गरेको हो।गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न भेलाले उदय नेपालीको संयोजकत्वमा समिति गठन गरेको छ।

समितिको सह–संयोजकमा जीवन गोतामे, सदस्य सचिवमा सविता छिनाल, आर्थिक संयोजकमा ङुटुक गुरुङ तथा सदस्यहरूमा गोविन्द नेपाली, विरेन्द्र परियार, धनबहादुर थापा, सुमित्रा पाइजा, लक्ष्मी खनाल विक, बिनोद परियार र रिना छन्त्याल चयन भएका छन्।

लामो समयसम्म मुस्ताङमा प्रतिष्ठानको जिल्ला समिति नहुँदा स्थानीय लोक तथा दोहोरी कलाकारहरू संस्थागत रूपमा आबद्ध हुनबाट वञ्चित थिए। अब समिति गठनसँगै जिल्लाका कलाकारलाई एउटै छातामुनि संगठित गर्दै लोकसंस्कृति, लोक तथा दोहोरी गीतको संरक्षण, प्रवर्द्धन, कलाकारहरूको हकहित तथा सिर्जनात्मक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने विश्वास गरिएको छ।

भेलामा प्रतिष्ठान नेपालका केन्द्रीय पदाधिकारी तथा गण्डकी प्रदेश समितिका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।