शिव हमाल, निशा के.सी. र सुशीला गौतमको भक्तिमय प्रस्तुति ‘हे प्रभु’ सार्वजनिक हुँदै

-


     हिडन खबर    
     असार ९ गते २०८३ मा प्रकाशित


काठमाडौं । नेपाली भक्ति संगीत क्षेत्रमा नयाँ आध्यात्मिक कोसेलीका रूपमा ‘हे प्रभु : भगवानको महिमा–२’ बोलको गीत तथा म्युजिक भिडियो आगामी बिहीबार सार्वजनिक हुने भएको छ।

गायिका निशा के.सी.को प्रस्तुति रहेको यस भजनमा निशा के.सी., शिव हमाल र सुशीला गौतमको सुमधुर स्वर सुन्न सकिनेछ।

गीतमा शिव हमालको शब्द तथा निशा के.सी.को संगीत रहेको छ भने संगीत संयोजन सुनिल परियारले गरेका छन्। श्रद्धा, भक्ति र समर्पणको भावलाई केन्द्रमा राखेर तयार पारिएको यस भजनले भगवानप्रतिको आस्था, विश्वास र सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

म्युजिक भिडियोमा शिव हमाल, सुशीला गौतम र सपना क्षेत्रीको अभिनय रहेको छ। भिडियोको निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गर्नुभएको हो। आकर्षक दृश्यांकन र आध्यात्मिक वातावरणले सजिएको भिडियोले दर्शक तथा श्रोताको मन जित्ने निर्माण पक्षको विश्वास छ।

सार्वजनिक हुनुअघि नै पोस्टरमार्फत चर्चा बटुलिरहेको ‘हे प्रभु : भगवानको महिमा–२’ निशा के.सी.को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिने जनाइएको छ। भक्ति संगीतप्रेमी दर्शक तथा श्रोतामाझ यो भजनले विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।