चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

-


     हिड्न खबरदाता     
     असार ९ गते २०८३ मा प्रकाशित


काठमाडौं । चलचित्र ‘महाराजधिराज’ मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन्। चलचित्रको छायांकन जारी रहेका बेला उनी निर्माण टिममा आबद्ध भएकी हुन्।

सोमबार चलचित्रको ३३औँ दिनको छायांकन चलिरहँदा निर्माण पक्षले पूजनालाई चलचित्रमा अनुबन्ध गरिएको जानकारी दिएको हो।

चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले भने, “हामी एक सक्षम र अनुभवी कलाकारको खोजीमा थियौँ। त्यसैले पूजनालाई चलचित्रमा अनुबन्ध गरेका हौँ। उहाँको आगमनले हाम्रो टिम अझ सशक्त बनेको छ।”

हाल चलचित्रको छायांकन काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ। सुनसरीस्थित श्रीलंका टापुबाट सुरु भएको छायांकन अहिले काठमाडौं केन्द्रित छ।
भक्तपुरका विभिन्न क्षेत्रमा समेत चलचित्रको छायांकन सम्पन्न भइसकेको छ। चलचित्रको छायांकन तालिका ७० दिनको रहेको निर्माण पक्षले जनाएको छ।

परिच्छेद सेनको निर्देशन रहेको ‘महाराजधिराज’ को छायांकन नवराज थापाले गरिरहेका छन्। निर्देशक सेनका अनुसार चलचित्र सामाजिक परिवेशमा आधारित पीरियड ड्रामा हो।

चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डी.सी. र सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ।

त्यसैगरी हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदीप अधिकारी र कमल देवकोटाको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ।

करिब ८० कलाकारको सहभागिता रहने यस चलचित्रमा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अञ्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ र पूजा बुढालगायत कलाकारको समेत अभिनय रहनेछ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको कथा तथा पटकथा निर्देशक परिच्छेद सेन स्वयंले लेखेका हुन्। चलचित्रका निर्माता रवि खड्का र टोपेन्द्र विष्ट रहेका छन्।