कृष्णबहादुर महराले सक्रिय राजनीति छाडे

-


     हिड्न खबरदाता     
     असार ४ गते २०८३ मा प्रकाशित


काठमाडौं, असार ४ — नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्।

पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा मात्र रहने निर्णय गरेको जानकारी उनले आज जारी गरेको वक्तव्यमार्फत दिएका हुन्।

वक्तव्यमा उनले आफू एट्रोफी (Atrophy) नामक रोगबाट पीडित रहेकाले पार्टी र आन्दोलनमा अपेक्षित योगदान दिन कठिन हुँदै गएको उल्लेख गरेका छन्।

‘आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु,’ वक्तव्यमा भनिएको छ, ‘यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिणाम हो।’

लामो समयदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय महराले नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा माओवादी तथा नेकपा माओवादी केन्द्र हुँदै हाल नेपाली कम्युनिष्ट पार्टीमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए।

स्वास्थ्य समस्याका कारण उनी पछिल्लो समय राजनीतिक गतिविधिबाट क्रमशः टाढिँदै आएका थिए। महरा यसअघि उपप्रधानमन्त्री, मन्त्री तथा प्रतिनिधिसभाका सभामुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

उनको सक्रिय राजनीति त्याग्ने निर्णयलाई नेपाली वाम आन्दोलनमा एक महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।