
काठमाडौं, जेठ २९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले संविधान संशोधनको बहसलाई जनताका मूल समस्याबाट ध्यान मोड्ने प्रयासका रूपमा अघि सारेको आरोप लगाएका छन्।
उनले वर्तमान राजनीतिक परिस्थितिमा संविधान संशोधन सम्भव नभएको दाबी गर्दै बरु विद्यमान व्यवस्था नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार ललितपुरमा आयोजना गरेको ‘संविधान संशोधन : नागरिकका अपेक्षा’ विषयक कार्यक्रममा बोल्दै सांसद सिंहले संविधान संशोधन बहसपत्र तयारी कार्यदलका संयोजक असिम शाहको भूमिकामाथि समेत प्रश्न उठाए।
उनले भने, “को हुन् असिम शाह ? सबैजना उहाँको पछाडि किन दौडिरहेका छन् ? संविधान संशोधन गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ?” भन्दै उनले संविधान संशोधनसम्बन्धी बहसको औचित्यमाथि नै प्रश्न गरेका थिए।
सिंहले संविधान संशोधनको विषयलाई ‘बुद्धिविलास’को संज्ञा दिँदै वर्तमान संसद्को संरचनामा यस्तो संशोधन सम्भव नरहेको जिकिर गरे। उनका अनुसार संविधान संशोधनका लागि संघीय संसद्का दुवै सदनसँगै प्रदेशहरूको समेत सहमति आवश्यक पर्ने भएकाले अहिलेको अवस्थामा त्यसको सम्भावना न्यून रहेको छ।
उनले गरिबी, बेरोजगारी, महँगी तथा आर्थिक संकटजस्ता जनजीविकासँग जोडिएका मुख्य समस्याबाट जनताको ध्यान अन्यत्र मोड्न संविधान संशोधनको बहस अघि बढाइएको आरोप लगाए।
कार्यक्रममा बोल्दै सिंहले गृहमन्त्रीले राजदरबार हत्याकाण्डको छानबिन गर्ने बताएको विषयप्रति पनि व्यंग्य गरे। उनले “कुन दिन कोतपर्व र भण्डारखाल पर्वको समेत छानबिन गर्छु भन्नुहोला” भन्दै सरकारका प्राथमिकतामाथि कटाक्ष गरे।
देशको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे। राज्यको आम्दानी कमजोर बन्दै गएकाले वर्तमान आर्थिक संरचना दीर्घकालीन रूपमा टिकाउ नरहेको उनको भनाइ थियो।
सांसद सिंहले नेपालको राजनीतिक इतिहास स्मरण गराउँदै दुईतिहाइ बहुमत प्राप्त सरकारहरूले समेत पूर्ण कार्यकाल पूरा गर्न नसकेको उल्लेख गरे। वर्तमान सरकार पनि त्यही नियतिको शिकार हुन सक्ने संकेत गर्दै उनले भने, “यो संसद् जति दिन टिक्छ टिक्ला, तर संविधान संशोधन हुनेवाला छैन। बरु व्यवस्था नै संकटमा पर्ने सम्भावना बढी देखिन्छ।”
उनको अभिव्यक्तिले संविधान संशोधनको बहस, सरकारको कार्यशैली र वर्तमान राजनीतिक अवस्थाबारे नयाँ बहस सुरु गराएको छ।










