गण्डकी लोकतारा–२०८३ को ग्राण्ड फिनाले जेठ ९ गते पोखरामा

-


     केपी कुमार जलन     
     जेठ ७ गते २०८३ मा प्रकाशित


पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा “दोस्रो गण्डकी लोकतारा–२०८३” को बहुप्रतिक्षित ग्राण्ड फिनाले आगामी जेठ ९ गते शनिबार पोखरामा हुने भएको छ।

पोखरा उद्योग वाणिज्य संघको सभाहल, गैह्रापाटनमा बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। गण्डकी प्रदेशभरबाट छनोट भएका प्रतिभाशाली कलाकारहरूले उत्कृष्ट प्रस्तुति दिने भएकाले कार्यक्रम विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

लोकदोहोरी कला र संस्कृतिको संरक्षण तथा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले पछिल्लो समय लोकसंगीत क्षेत्रमा नयाँ ऊर्जा थपेको आयोजकको भनाइ छ। कार्यक्रममा चर्चित कलाकार, संगीतकर्मी, सांस्कृतिक अभियन्ता तथा दर्शकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको अध्यक्ष माया गुरुङले जानकारी दिनुभयो।

यसैबीच आयोजक संस्थाले लोकप्रिय कलाकार निशा केसीलाई ग्राण्ड फिनाले कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेको छ।

गण्डकी प्रदेशकै प्रतिष्ठित लोकसांगीतिक प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको “गण्डकी लोकतारा” ले नयाँ पुस्तालाई लोकसंस्कृतिप्रति आकर्षित गराउँदै मौलिक कला संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।