दर्शन फाउन्डेसनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

-


     हिडनखबर     
     जेठ ४ गते २०८३ मा प्रकाशित


पोखरा । दर्शन फाउन्डेसन, पोखराको आयोजनामा एकदिने निःशुल्क आँखा परीक्षण शिविर पर्वत जिल्लाको जलजला गाउँपालिका–३, मल्लाज, माझफाँटस्थित मल्लाज स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।

शिविरमा ४११ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये २१ जनामा मोतिबिन्दुको समस्या देखिएको र उनीहरूलाई शल्यक्रियाका लागि हिमालय आँखा अस्पताल, पोखरा सिफारिस गरिएको आयोजकले जनाएको छ । शिविरमा निःशुल्क चस्मा, औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

शिविरमा ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक, महिला, दलित तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको बताइएको छ ।

दर्शन फाउन्डेसनका अध्यक्ष पितमबहादुर सेनले सामाजिक सेवामार्फत समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

त्यसैगरी, जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका यस्ता स्वास्थ्य शिविरले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुगेको बताउँदै सामाजिक संघसंस्थाले स्वास्थ्य, शिक्षा तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । उनले दर्शन फाउन्डेसन र सहयोगी संस्थाहरूले गरेको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

उक्त शिविरमा हिमालय आँखा अस्पताल, घारीपाटन पोखराले प्राविधिक सहयोग गरेको थियो भने जलजला गाउँपालिका वडा नं. ३ र मल्लाज स्वास्थ्य चौकीले सहयोग गरेका थिए ।

कार्यक्रममा जलजला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष एकेन्द्र खत्री, हिमालय आँखा अस्पतालका नेत्र अधिकृत दिनेश बानियाँ, मल्लाज स्वास्थ्य चौकीका प्रमुख पवित्रा रेग्मी, दर्शन फाउन्डेसनका सचिव दमन मल्ल तथा कार्यक्रम संयोजक यामबहादुर जिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

,