
कास्की बैशाख ५
“तनावमुक्त आमा, खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम गण्डकी प्रदेशको राजधानी कास्कीमा सम्पन्न भएको छ।
पोखरा–६, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजित कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवारिक सुदृढीकरण तथा सकारात्मक सोच विकासका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादायी वक्ता रामजी अधिकारीले सहजीकरण गर्नुभयो। उहाँले आमा मानसिक रूपमा सुदृढ र तनावमुक्त भएमा परिवार नै सुखी र समृद्ध बन्ने उल्लेख गर्दै सकारात्मक सोच, आत्मविश्वास र धैर्यताको महत्वबारे प्रशिक्षण दिनुभयो। साथै, व्यवहारिक अभ्यासमार्फत सहभागीहरूलाई तनाव व्यवस्थापनका उपायहरू पनि सिकाइयो।
उक्त कार्यक्रम महिला सञ्जाल, पोखरा–६ बैदामको आयोजनामा तथा मानवसेवा आश्रमको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले महिलाहरूलाई मानसिक रूपमा सबल बनाउँदै परिवार र समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
















