
काठमाडौं । चर्चित चलचित्र ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का मुख्य भूमिकामा अनुबन्धित भएका छन्। नयाँ वर्षको अवसरमा निर्माण पक्षले विशेष पोस्टरसहित उनको नाम सार्वजनिक गरेको हो।
पोस्टरमा पुष्प दुई विपरीत अवतारमा देखिएका छन्—एकतर्फ राजकीय ठाँटमा श्रीपेच, राजदण्ड र राजर्षि पहिरनसहित; अर्कोतर्फ दुब्लो, कमजोर अवस्थाको नग्न पात्रका रूपमा। यसले कथावस्तु गहिरो र प्रतिकात्मक रहेको संकेत गर्छ।
पुष्पले अनुबन्ध गर्दा रगतको औंठाछाप प्रयोग गरेका थिए। उनले यो भूमिकालाई करिअरको ठूलो अवसर र चुनौती मानेका छन्। निर्माण अवधिभर अन्य चलचित्र वा भिडियो सामग्रीमा संलग्न नहुने घोषणा पनि गरेका छन्।
चलचित्रमा नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा राउतलगायत ८० भन्दा बढी कलाकार रहनेछन्। निर्देशक सेनको ‘ड्रिम प्रोजेक्ट’ मानिएको यो चलचित्र वैशाख दोस्रो सातादेखि सुनसरीको श्रीलंका टापुमा छायांकन सुरु हुने र काठमाडौं, भक्तपुर, कीर्तिपुरमा समेत खिचिने तयारी छ।
निर्माण टिमले ‘महाराजधिराज’लाई आगामी बडादशैंको फूलपातीमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखेको छ।












