जेनेक्समा २८ गते गेमिङ प्रतियोगिता

-


     हिड्न खबरदाता     
     फागुन २७ गते २०८२ मा प्रकाशित


पोखरा, २७ फागुन

पोखराका गेमिङ पारखीलाई लक्षित गरी विशेष गेमिङ प्रतियोगिता आयोजना हुने भएको छ। आरओजी सटडाउन सिरिज नामक प्रतियोगिता बिहीबार पोखराको जेनेक्स प्लाजामा हुने कार्यक्रम तय भएको छ।

नागमणि प्रालि र आसुसको सहयोगमा आयोजना हुने प्रतियोगितामा लोकप्रिय फुटबल भिडियो गेम ईए एफसी २६ मा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। सहभागीबीच रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको जेनेक्स अटोमेसनका सञ्चालक नवीन पौडेलले जानकारी दिए।

प्रतियोगितामा विजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन्। गेमिङ क्षेत्रमा आफ्नो क्षमता देखाउन इच्छुक खेलाडीलाई आयोजकले सहभागी हुन आग्रह गरेका छन्। खेलाडीहरूले अनलाइनमार्फत नाम दर्ता गरेर प्रतियोगितामा भाग लिन सक्नेछन्।

सञ्चालक पौडेलका अनुसार नेपालमा बढ्दो ई–स्पोर्ट्स संस्कृति र युवामाझ लोकप्रिय बन्दै गएको गेमिङ गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। उनले भने, “पोखरा र आसपासका युवालाई आधुनिक प्रविधि र गेमिङ प्लेटफर्मसँग जोड्ने लक्ष्यले हामीले यस कार्यक्रम आयोजना गरेका हौं।”

जेनेक्सकी बिक्री प्रबन्धक इच्छा बस्नेतले काठमाडौं बाहिर पहिलोपटक पोखरामा यस किसिमको प्रतियोगिता हुन लागेको उल्लेख गर्दै खेलाडीहरूको उत्साहजनक सहभागिता हुने अपेक्षा व्यक्त गरिन्।

जेनेक्स अटोमेसन पोखरा केन्द्रित सूचना प्रविधि, अटोमेसन तथा आधुनिक इलेक्ट्रोनिक्स उपकरण बिक्री र सेवा प्रदान गर्ने कम्पनी हो। यसले कम्प्युटर हार्डवेयर, गेमिङ उपकरण, स्मार्ट अटोमेसन प्रणाली, नेटवर्किङ समाधानलगायतका प्रविधिसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा आईटी तथा इलेक्ट्रोनिक्स उत्पादन आपूर्ति र प्राविधिक सेवा प्रदान गर्दै आएको जेनेक्सले युवालाई डिजिटल सीप, गेमिङ र नयाँ प्रविधिसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस प्रतियोगिताले पोखराको गेमिङ समुदायलाई अझ सक्रिय बनाउने अपेक्षा गरिएको छ।