बागलुङको कालिमाटीमा मौदगल्य ऋषिको मूर्ति निर्माण

-


     सुवास आचार्य     
     फागुन ११ गते २०८२ मा प्रकाशित



बागलुङ, फागुन ११

बागलुङ नगरपालिका–७ कालिमाटीमा पहरा खोपेर मौदगल्य ऋषिको मूर्ति निर्माण गरिएको छ। निउरे मौदगल्य प्रतिष्ठान बागलुङको पहलमा करिब १५ लाख रुपैयाँ खर्चेर मूर्ति निर्माण गरिएको हो। नवनिर्मित मूर्तिको आइतबार वैदिक विधिअनुसार प्राण प्रतिष्ठा गरिएको छ।

कालिमाटीस्थित एक विशाल पहरालाई खोपेर कलात्मक ढंगमा मूर्ति बनाउन स्थानीयवासीले आर्थिक सहयोग गरेका थिए। प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा निउरे वन्दुहरूको उपस्थितिमा ब्राह्मणहरूले वैदिक विधिअनुसार प्राण प्रतिष्ठा सम्पन्न गरेका हुन्। यस अवसरमा विशेष पूजा, अर्चना, अखण्ड दीप प्रज्वलन तथा भजन–कीर्तन पनि आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै स्वामी ऋषि प्रपन्नाचार्यले निउरे वन्दुहरूले निर्माण गरेको विशिष्ट मूर्तिले यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्त्व झल्काउने मात्र नभई पहिचान विस्तारमा पनि योगदान पुर्‍याउने बताए। कार्यक्रममा पण्डित कृष्ण प्रसाद निउरे, प्रतिष्ठानका संस्थापक सचिव तेज प्रसाद निउरेलगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष जिवराम निउरेको अध्यक्षता तथा सचिव वैकुण्ठ निउरेको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा मौदगल्य ऋषिको मूर्तिसहित अन्य भौतिक संरचना निर्माणमा सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो। संस्थापक सचिव तेज प्रसाद निउरेले निउरेहरूको उद्गम थलोको रूपमा देश–विदेशमा पहिचान दिलाउने उद्देश्यले मूर्ति स्थापना गरिएको बताए।

प्रतिष्ठानको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गरेको छ।