गौरीधाम शिव मन्दिरमा सेना र रेडक्रसको आपतकालीन स्वास्थ्य डेस्क

-


     सुवास आचार्य     
     फागुन ३ गते २०८२ मा प्रकाशित


बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा दर्शनका लागि आउने भक्तजनलाई लक्षित गरी आपतकालीन स्वास्थ्य डेस्क सञ्चालन गरिएको छ।

नेपाली सेनाको २३ नम्बर वाहिनी बागलुङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङले संयुक्त रूपमा मन्दिर परिसरमा स्वास्थ्य डेस्क स्थापना गरेका हुन्।

भक्तजनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी गरिएको व्यवस्थामा आवश्यक औषधि बागलुङ उद्योग वाणिज्य संघले उपलब्ध गराएको थियो।

स्वास्थ्यकर्मी तथा स्वयंसेवकसहितको स्वास्थ्य डेस्क स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सभापति जगन्नाथ आचार्यले बताउनुभयो।

रेडक्रसले महाशिवरात्रि तथा श्रावण सोमबारका अवसरमा नियमित रूपमा मन्दिर परिसरमा स्वास्थ्य डेस्क सञ्चालन गर्दै आएको छ।

महाशिवरात्रिको दिन गौरीधाममा भक्तजनको ठूलो भीड लागेको थियो। बिहानैदेखि भक्तजनको चहलपहल सुरु भइसकेको थियो। भक्तजनको सहजता र सुविधाका लागि आवश्यक सबै प्रबन्ध विहानैदेखि मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर जिसीले जानकारी दिनुभयो।