
बागलुङ माघ २७
एचआईभी तथा एड्ससँग सम्बन्धित लाञ्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले बागलुङमा जनप्रतिनिधि, नेपाल प्रहरी, पत्रकार, एचआईभी संक्रमित व्यक्ति तथा मुख्य जोखिम समूहलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको कार्यक्रममा एचआईभी संक्रमित व्यक्तिप्रति समाजमा देखिने नकारात्मक दृष्टिकोणका कारण उनीहरू सामाजिक, आर्थिक तथा मानसिक रूपमा प्रभावित हुँदै आएको उल्लेख गर्दै त्यसको न्यूनिकरणका लागि कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत संगिता घिमिरे, क्षयकुष्ठ सुपरभाइजर देवप्रकास घिमिरे तथा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले सहजीकरण गर्दै एचआईभी सम्बन्धी विद्यमान कानुनी व्यवस्था, मानव अधिकार, संक्रमित व्यक्तिको गोपनीयता तथा राज्यका दायित्वबारे सहभागीहरूलाई जानकारी गराएका थिए। साथै जिल्लामा एचआईभी संक्रमणको वर्तमान अवस्था, संक्रमणको जोखिम, उपचारको पहुँच, परामर्श सेवा तथा रोकथामका उपाय, मुख्य जोखिम समूहले भोगिरहेका समस्या, उपचारमा देखिएका चुनौतीहरू, उपलब्ध उपचार सेवा, औषधि वितरण तथा स्वास्थ्य संस्थाबाट दिइने सहयोगबारे पनि जानकारी गराइएको थियो।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक प्रविण शर्माले एचआईभी संक्रमितमाथि समुदायमा हुने भेदभावले उनीहरूलाई उपचार सेवा लिन समस्या हुने बताउँदै संक्रमित व्यक्तिहरू खुलेर स्वास्थ्य संस्थामा नियमित फलोअपका लागि जान कठिनाइ हुने उल्लेख गरे। उनले पहिलेको तुलनामा अहिले एचआईभी सङ्क्रमणपछि पनि नियमित स्वास्थ्य परीक्षण र औषधि सेवनले संक्रमित व्यक्ति अन्य मानिस सरह जीवनयापन गर्न सक्ने चेतना विकास भएको बताए।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका उपाध्यक्ष सुवास आचार्यले पत्रकारहरूको भूमिका सही सूचना प्रवाह, संवेदनशील रिपोर्टिङ र समाजमा सकारात्मक सन्देश फैलाउन केन्द्रित हुनुपर्नेमा जोड दिए। सहभागीहरूले यस्ता कार्यक्रमले एचआईभी सम्बन्धी भ्रम तोड्न र समाजमा समान व्यवहारको संस्कृति विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक प्रविण शर्माको अध्यक्षता, जनस्वास्थ्य अधिकृत संगिता घिमिरेको स्वागत तथा क्षयकुष्ठ सुपरभाइजर देवप्रकास घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।













