लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

-


     हिड्न खबरदाता     
     माघ २७ गते २०८२ मा प्रकाशित


लेखनाथ, २६ माघ । लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरूका लागि आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी तालिम आइतबार सम्पन्न गरेको छ।

तालिमको उद्घाटन गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले यस्ता तालिममार्फत व्यवसायीहरूले जीवनभर उपयोगी हुने ज्ञान हासिल गर्न सक्ने र त्यसले व्यवसायिक जीवनमा सफलता प्राप्त गर्न सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले व्यवसायिक जीवनमा कसैले प्रश्न उठाउन नसक्ने स्वाभिमानी जीवनयापनका लागि विभिन्न प्रकारका करसम्बन्धी जानकारी अनिवार्य रहेको उल्लेख गर्दै कर तिर्नु प्रत्येक नागरिकको कर्तव्य भएको स्पष्ट पार्नुभयो। नियतवश कर छल्ने कार्य गर्दा भविष्यमा गम्भीर समस्यामा पर्न सक्ने भएकाले सबैलाई सजग रहन आग्रह गर्नुभयो।

कार्यक्रममा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले संघमा आबद्ध व्यवसायीहरूलाई व्यवसायिक रूपमा अझ सक्षम र सफल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो।

उहाँका अनुसार कर गणना गर्ने तरिका, कर विवरण भर्ने, कर चुक्ता प्रमाणपत्र लिने, आय विवरण बुझाउने, करसम्बन्धी झन्झट तथा मिसम्याच, नन–फाइलर हुनेजस्ता विषयमा व्यवसायीहरूले भोग्दै आएका समस्याको समाधानमा तालिम केन्द्रित रहेको थियो।

राष्ट्रको समृद्धि, विकास र सुशासन कर प्रणालीको पारदर्शिता र नागरिकको करप्रतिको सकारात्मक सोचसँग जोडिएको उल्लेख गर्दै तालिमले त्यसमा योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

त्यस अवसरमा तालिम व्यवस्थापन उप–समितिका संयोजक सुजन न्यौपानेले व्यवसायीहरूले भोगेका समस्याको समाधानका लागि तालिम आयोजना गरिएको बताउनुभयो।

उहाँले कर डराउनुपर्ने विषय नभई बुझ्नुपर्ने विषय भएको उल्लेख गर्दै उद्यमी तथा व्यवसायीलाई सचेत गराउने र न्यूनतम कानुनी मापदण्ड पालना गर्न प्रेरित गर्ने दृष्टिले तालिम महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।

यस्तै संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले करलाई प्राथमिकता र महत्व नदिँदा व्यवसायीहरूले विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो। राज्यका ऐन–कानुन तथा कर नीतिबारे जानकारी नभएको भन्दै उन्मुक्ति नपाइने स्पष्ट पार्दै यस विषयमा सचेत गराउन तालिम प्रभावकारी हुने बताउनुभयो। प्रत्येक आर्थिक वर्षको सुरुवातसँगै परिवर्तन भइरहने कर नीतिबारे व्यवसायीहरूले आफूलाई अद्यावधिक राख्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो।

७० भन्दा बढी उद्योगी तथा व्यवसायीको सहभागिता रहेको तालिममा विवेक एण्ड एशोसिएट्सका सञ्चालक चार्टर्ड एकाउन्टेन्ट विवेक श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो। संघकी अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गर्नुभएको थियो।