
प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ का उम्मेदवारलाई विजयी गराउन नेपाली काँग्रेस क्षेत्र नं. १ प्रदेश सभा (क) ले समन्वय तथा परिचालन समिति गठन गरेको छ।
नेपाली काँग्रेस क्षेत्र नं. १ (क) का अध्यक्ष हरीबहादुर जिसी ‘सन्तोष’ को अध्यक्षतामा आइतबार बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन विभिन्न तहसम्म पुग्ने गरी जिम्मेवारी बाँडफाँड गरेको छ।
प्रदेश सभा (क) का अध्यक्ष हरीबहादुर जिसीका अनुसार क्षेत्र, नगर, पालिका तथा वडा तहसम्म पार्टीका कार्यकर्तालाई परिचालन गरी आफ्ना उम्मेदवारलाई विजयी गराउन जिम्मेवारी प्रदान गरिएको छ।
बैठकले नेपाली काँग्रेसका उम्मेदवार, जिल्ला कार्यसमिति तथा क्षेत्रीय कार्यसमितिबाट खटिएका प्रतिनिधिहरूसँग समन्वय र सहजीकरण गर्दै निर्वाचन अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय गरेको छ। साथै सबैलाई विजयी गराउन सक्रिय भूमिका खेल्न आग्रह गरिएको अध्यक्ष जिसीले जानकारी दिनुभयो।
बागलुङ क्षेत्र नं. १ मा नेपाली काँग्रेसबाट प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवार भीम श्रीस तथा समानुपातिकतर्फ शकुन्तला शर्मा र पार्वती आचार्यलाई विजयी गराउन घरदैलो अभियानलगायत अन्य गतिविधिहरूलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ।









