‘शिवांश : च्याप्टर १’ को ट्रेलर

-


     हिड्न खबरदाता     
     माघ २३ गते २०८२ मा प्रकाशित


काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ। 

अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा बसेर गरिने आपराधिक गतिविधि समेटिएको छ। जोगीको भेषमा कतिपय व्यक्ति कसरी अपराधमा संलग्न हुन्छन् भन्ने विषयलाई ट्रेलरले देखाएको छ। 

बाहिरबाट हेर्दा सांसारिक मोह त्यागेर सादगी जीवन बिताइरहेको त्यागी देखिए पनि भित्रको क्रुर मानसिकता र व्यवहार कति डरलाग्दो हुन्छ भन्ने कुरा ट्रेलरले स्पष्ट पारेको छ। जोगीको भेषको आवरणमा हत्याजस्ता जघन्य अपराधमा संलग्न पात्रको कथा चलचित्रले भन्ने संकेत गरेको छ।

पौराणिक हिन्दु मान्यता र आधुनिक युगको रहस्यलाई रोचक ढंगले प्रस्तुत गरिएको ट्रेलरमा ‘समुद्र मन्थन’ को प्रसंग र त्यस क्रममा उत्पन्न भएको विषको कथा उठान गरिएको छ।

ट्रेलरको सबैभन्दा बलियो पक्ष अभिनेता प्रवीण खतिवडाको लुक्स र अभिनय हो। सुरुवाती दृश्यमै उनलाई साधुको रूपमा देखाइएको छ, जो कुनै दिव्य शक्ति वा ‘सिद्धि’ प्राप्तिका लागि मरिहत्ते गरिरहेको छ। शरीरमा खरानी, हातमा त्रिशूल र आँखामा देखिएको उन्मादले उनलाई एक शक्तिशाली ‘एन्टी-हिरो’ वा रहस्यमयी पात्रको रूपमा प्रस्तुत गरेको छ।

चलचित्रको मूल कथा एक रहस्यमयी दिव्य शिला (ढुंगा) वरिपरि घुमेको छ, जसले कलयुगमा शक्ति वा विनाश निम्त्याउन सक्ने संकेत गरिएको छ। आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले उत्पन्न गर्ने द्वन्द्व नै चलचित्रको मुख्य आकर्षण बनेको देखिन्छ।

ट्रेलरमा भनिएको “यो पुस्तकले विध्वंश निम्त्याउन सक्छ” भन्ने संवादले कथाको वरिपरि ठूलो खतरा रहेको संकेत गर्छ।

ट्रेलरमा एकातिर गुफा, मन्त्रोच्चारण र तान्त्रिक विधिहरू देखिन्छन् भने अर्कोतिर ल्यापटप, आधुनिक हतियार र प्रहरी अनुसन्धान पनि देखाइएको छ। यसले चलचित्र केवल धार्मिक कथा मात्र नभई आधुनिक युगमा पौराणिक शक्ति भेटिँदा उत्पन्न हुने द्वन्द्वमा आधारित रहेको बुझिन्छ।

यस्तै, ट्रेलरमा अन्य कलाकारहरू तेज गिरी, विकास जोशी र रुशा न्यौपानेको भूमिकाले कथालाई थप रहस्यमयी बनाएको छ।

निर्देशक सन्तोष कुमार आत्रेयले चलचित्रलाई भव्य र फरक शैलीमा निर्देशन गरेको झलक ट्रेलरमा प्रष्ट देखिन्छ। छायांकन, पृष्ठभूमि संगीत र भीएफएक्समा विशेष ध्यान दिइएको छ, जसले चलचित्रलाई स्तरीय बनाउन प्रयास गरिएको छ।

चलचित्रको अर्को विशेष पक्ष भनेको भारतीय प्रख्यात गायक कैलाश खेरको स्वर र संगीत हो। ट्रेलरमा प्रयोग गरिएको शक्तिशाली पृष्ठभूमि संगीत र मन्त्रोच्चारणले दर्शकलाई आध्यात्मिक भावमा डुबाउँछ। 

प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुशा न्यौपाने मुख्य भूमिकामा छन्। साथै विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला लगायतका कलाकारको अभिनय पनि देख्न सकिन्छ। 

चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बूले तयार गरेका हुन्। निर्माता अञ्जान केसीसँगै सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। कार्यकारी निर्माता सम्भू थापा हुन्। 

गीतमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको रचना रहनेछ। न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको चलचित्रका गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीले स्वर दिएका छन्। 

सरद महतोको डीओपी, बनिश शाहको सम्पादन, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी, मिलन मानन्धरको प्रोडक्सन व्यवस्थापन, प्रतीक चौधरीको आर्ट निर्देशन तथा प्रोडक्सन डिजाइन रहेको छ। 

मुख्य सहायक निर्देशक बारत लिम्बू र स्क्रिप्ट डक्टर सुलक्षण भारती रहेका छन्। 

नेपाली चलचित्र क्षेत्रमा पौराणिक विषयवस्तुमा आधारित ‘स्पिरिचुअल एक्शन ड्रामा’ कमै मात्र बन्ने गरेका छन्। यस्तोमा ‘शिवांश : च्याप्टर १’ले दर्शकलाई नयाँपन दिने अपेक्षा गरिएको छ। महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएकाले शिवभक्त र चलचित्रप्रेमीहरूका लागि यो एक विशेष उपहार सावित हुन सक्छ।