प्रेस सेन्टर नेपालको २२ औं स्थापना दिवस : पत्रकार तथा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण

-


     हिडन खबर    
     माघ १६ गते २०८२ मा प्रकाशित


बागलुङ ,माघ १५
प्रेस सेन्टर नेपालको २२ औं स्थापना दिवसको अवसरमा पत्रकार तथा जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले नागरिकलाई सुसूचित गर्ने दायित्वबाट पछि हट्न नहुने उल्लेख गर्नुभयो। उहाँले नेपालका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको प्रेस जगत आफ्नो भूमिकाबाट विचलित हुन नहुने धारणा व्यक्त गर्नुभयो।

थापाले स्थापना दिवसको अवसरमा जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरी समुदायसँग जोडिने काम गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो।

कार्यक्रममा जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष चिरञ्जीवि कुमार श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पिङ्गलराज गौतम, प्रेस सेन्टर नेपाल बागलुङका संस्थापक बद्री प्रसाद शर्मा तथा प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ति मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम प्रेस सेन्टर बागलुङका उपाध्यक्ष अनिश खातीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत कोषाध्यक्ष दिलिप प्रतेलले गर्नुभएको थियो भने सञ्चालन सचिव विनोद थापाले गर्नुभएको थियो।

बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद खनालको नेतृत्वमा सम्पन्न स्वास्थ्य परीक्षण कार्यक्रममा ६० जना जेष्ठ नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका थिए।