यताउता भड्किन छाडेर नेकपामै फर्किन विप्लवलाई प्रचण्डको आग्रह

-


     हिडन खबर    
     माघ १५ गते २०८२ मा प्रकाशित


काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गर्नुभएको छ।

विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो आग्रह गर्नुभएको हो।

उहाँले जेन्जी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा ठूलो तुहिँलोभित्र हराएको टिप्पणी गर्दै इतिहासमा विरलै प्राप्त हुने अवसर गुमाएको बताउनुभयो। “हामीले नेपाली कम्युनिस्ट पार्टी आवेगमा बनाएका होइनौँ। एकताको प्रक्रियामा तपाईंहरूले ठूलो महत्व पाउँदै हुनुहुन्थ्यो,” प्रचण्डले भन्नुभयो।

समाजवादी मोर्चालाई नै नेपाली कम्युनिस्ट पार्टीको रूपमा अगाडि बढाउन आफू र माधव नेपालले विप्लवलाई ठूलो महत्व दिएको भए पनि, विप्लव एकताबाट बिना कारण पछाडि हटेको उहाँको भनाइ थियो।

एकतामा समावेश नभए पनि विप्लवप्रति कुनै घृणा वा आक्रोश नरहेको स्पष्ट पार्दै प्रचण्डले नेकपा नै विप्लव समूहको वास्तविक घर भएको उल्लेख गर्नुभयो। “यताउता भड्किनुपर्ने आवश्यकता छैन। आजभोलि भड्किँदा केही हुनेवाला छैन,” उहाँले भन्नुभयो।

प्रचण्डले पुरानो सहयात्रीको नाताले विप्लवप्रति माया र भरोसा रहेको बताउँदै आत्मसमिक्षा गरी नेकपामै फर्किन आग्रह गर्नुभयो। उहाँले अझै पनि नेकपामा समावेश भई अघि बढ्ने अवसर बाँकी रहेको उल्लेख गर्दै भने, “यो आत्मसमिक्षा गर्ने बेला हो। तपाईंहरूको अवसर अझै गुमिसकेको छैन।”

सो क्रममा प्रचण्डले निर्वाचन नजिकिँदै गर्दा पनि देशको असहज परिस्थिति पूर्ण रूपमा समाधान नभएको बताउनुभयो। नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उहाँले देश फेरि अर्को दुर्घटनातर्फ जान सक्ने खतरा औँल्याउनुभयो।

“चुनाव अगाडि छ, तर यसले के दिन्छ भन्नेबारे अझै अनिश्चितता छ। यदि हामी एकताबद्ध भएर देशव्यापी अभियानमा लागेनौँ भने देश फेरि अर्को दुर्घटनातिर जान सक्छ,” उहाँले चेतावनी दिनुभयो।

प्रचण्डले पार्टीपंक्तिलाई एकताबद्ध भएर चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिनुभएको छ।